चिनीमा कालोबजारीः सरकारी मूल्य १००, बजार मूल्य १२०

  • चिरफार डटकम, विराटनगर १३१  पटक हेरिएको

शुक्रबार, भाद्र ०५, २०८३ समय : १७:२८:४० , ३ घन्टा अगाडि

विराटनगरमा चिनीको अभाव छ । कारोबारीहरू चिनी अभावको फाइदा उठाउँदै बढी रकम लिएर चिनी बिक्री गरिरहेको छ । नेपाल सरकारले चिनीको मूल्य प्रति केजी १ सय रुपैयाँ तोकेको छ  । तर बजारमा प्रति केजी १ सय २० रुपैयाँमा चिनी बिक्री भइरहेको छ ।

चिनी उत्पादन गर्ने उद्योग इस्टर्न सुगर मिल्स लि. सुनसरीले थोक मूल्य प्रति केजी १ सय १५ देखि १ सय १६ रुपैयाँसम्म लिएर चिनी बिक्री गरिरहेको छ । तर चिनी मिल्सले प्रति केजी ९७ देखि ९८ रुपैयाँमा चिनी बिक्री गरेको बिल दिएर कालोबजारी गरिरहेको कारोबारीहरूले जानकारी गराइरहेका छन् ।

राज्य यस तर्फ मौन छ । र कालोबजारीहरु महँगो मूल्यमा चिनी बिक्री गरेर मालामाल भइरहेका छन् । मोरङ उद्योग व्यापार संघ विराटनगरका वरिष्ठ उपाध्यक्ष अनिल साहले सरकारले तोकेको मूल्य भन्दा चिनी मिल्सले बढी मूल्य लिएर चिनी बिक्री गर्न नपाउने बताए ।

यदि चिनी उत्पादन गर्ने सुगर मिल्सलाई मार्का परेको छ  भने सरकार सँग वार्ता र सम्वाद नगरी कालोबजारी गर्न पाइँदैन ।

कालोबजारी गर्ने इस्टर्न सुगर मिल्सदेखि कालोबजारीमा संलग्न कारोबारीलाई राज्यले कारबाही गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष साहले बताए ।

विराट व्यापार संघका उपाध्यक्ष प्रविण अग्रवालले सरकारले तोकेको मूल्यमा बजारमा चिनी नपाइने तर कालोबजारीहरूले महँगो मूल्यमा चिनी बिक्री गरिरहेकोले राज्यले त्यस्ता कालो बजारी गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए ।