“नेपाल उद्योग परिसंघ कोशी मेलाको मिति परिवर्तन गर्ने पक्षमा छैन”

  • चिरफार डटकम, विराटनगर १८०  पटक हेरिएको

शुक्रबार, साउन ०८, २०८३ समय : १७:२४:०४ , ७ घन्टा अगाडि

नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गर्न लागेको मेलाको मिति परिवर्तन गर्ने पक्षमा छैन ।

नेपाल उद्योग परिसंघ कोशीले २०८३ पुस ८ गतेदेखि १८ गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १ पोखरियास्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फ खुल्ला मैदानमा मेला लगाउने निर्णय गरेको छ ।

उद्योग संगठन मोरङले २०८३ पुस २ गतेदेखि ११ गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा मेला लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले २०८३ पुस महिनामा निजी क्षेत्रको दुई संस्थाले एउटै मिति र एउटै समयमा मेला लगाउने गरेको तयारी प्रति चासो लिएको छ । र दुवै संस्थालाई फरक मितिमा आलोपालो गरेर मेला लगाउन समन्वयकारी भूमिका निर्वाह गर्ने गरी अगाडी बढेको छ ।

नेपाल उद्योग परिसंघ कोशीका महानिर्देशक विजयहरी शर्माले मेलाको मिति जुधेकोले डेढ महिनाको अन्तरमा आलोपालो गरी मेला लगाउने दुवै संस्थाका अध्यक्ष बिच छलफल जारी रहेको बताए । तर पहिला नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले र त्यसपछि उद्योग संगठन मोरङले मेला लगाउनु पर्ने प्रस्ताव अघी सारेर छलफल भइरहेको उनले बताए ।

२०८१ पुस महिनामा उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशी बिच एउटै समयमा मेला लगाउने मिति जुधेपछि तीन तहकै सरकार र निजी क्षेत्र बिच  लामो छलफल र बहस पछि नेपाल उद्योग परिसंघ मेला लगाउने निर्णयबाट पछि हटेका थिए ।

तर यस वर्ष नेपाल उद्योग परिसंघ कोशीको बोर्ड बैठकले मेला लगाउने निर्णय गरेकोले बोर्ड बैठकको निर्णयबाट पछि हट्न सक्ने अवस्था नरहेको महानिर्देशक शर्माले बताए ।

नेपाल उद्योग परिसंघ कोशीले उपाध्यक्ष गिरीजा सारडालाई प्रमुख संयोजक बनाएर मेलाको तयारी सुरु गरेको छ ।