- चिरफार डटकम, विराटनगर १६३ पटक हेरिएको
मंगलबार, साउन २६, २०८३ समय : १३:४६:५५ , १३ घन्टा अगाडि
उपभोक्ता ठग्ने कोशी ग्यास उद्योगलाई मोरङ प्रशासनले कारबाही गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका अन्तर्गत निमुवामा रहेको कोशी ग्यास उद्योगले कम वजनको ग्यास सिलिण्डर बिक्री गरेर उपभोक्तालाई ठगी गरेको आरोपमा मोरङ प्रशासनले कारबाही गरेको हो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला नेतृत्वको अनुगमन समितिले साउन २३ गते शनिवार कोशी ग्यास उद्योगको अनुगमन गर्दै कम वजनको ग्यास सिलिण्डर बिक्री गरेर उपभोक्ता ठगी गरेको आरोपमा २ लाख ९० हजार रुपैयाँ जरिवाना गर्दै उद्योगलाई कारबाही गरेको छ ।
उद्योगले १४ किलो २ सय ग्राम ग्यास सिलिण्डर बजारमा पठाएर बिक्री गर्नुपर्नेमा १३ किलो ७ सय ४५ ग्राम ग्यास मात्रै पठाएर उपभोक्तालाई ठगी गरेको आरोप लागेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
मोरङ प्रशासनले कोशी ग्यास उद्योगको अनुगमन गर्दा ग्यास भरेर बजारमा पठाउन ठिक्क पारिएको १ सय ४३ वटा ग्यास सिलिण्ड मध्ये ६४ वटा ग्यास सिलिण्डको तौल पुनः चेक जाँच गर्दा ६३ वटा सिलिण्डरमा औषत तौल कम भेटिएको छ । १४ किलो २ सय ग्राम ग्यास सिलिण्डरमा हुनु पर्ने मा उद्योगले १३ किलो ७ सय ४५ ग्राम ग्यास मात्रै बजारमा पठाउन ठिक पारेका थिए ।
अनुगमन समितिले उद्योगमा रहेको खाली सिलिण्डरको चेक जाँच गर्दा खाली सिलिण्डरमा फलाम जडान गरेर १ सय देखि १ सय ५० ग्राम वजन बढाएको सिलिण्डर फेला परेको छ ।
कोशी ग्यास उद्योगका म्यानेजर सतिश उपाध्यायले ग्यास भर्ने मेसिनमा समस्या आएकोले ग्यास सिलिण्डरमा मापदण्ड भन्दा कम वजनको ग्यास भेटिएको बताए । उनले यो उद्योगको गल्ती रहेकोले आगामी दिनमा यसलाई सुधार गर्दै लैजाने बताए ।