- ब्रह्मदेव यादव, विराटनगर ७४ पटक हेरिएको
शुक्रबार, आश्विन २३, २०८३ समय : १३:२५:३६ , २ घन्टा अगाडि
नेपाल उद्योग परिसंघ कोशीमा बिहीबारदेखि बजेट निगरानी कार्यक्रमको शुभारम्भ भएको छ । नेपाल उद्योग परिसंघ केन्द्रीय समितिले आर्थिक वर्ष २०७७/०७८ देखि नेपाल आर्थिक पत्रकार समाजसँग सहकार्य गरेर सङ्घीय सरकारको बजेट बारे निगरानी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले नेपाल आर्थिक पत्रकार समाजसँग सहकार्य गरेर बजेट निगरानी कार्यक्रमको शुभारम्भ गरेको हो ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङथेपे र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले बजेट निगरानी कार्यक्रमको शुभारम्भ गरेका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष सारडाले कोशी प्रदेश सरकारले प्रत्येक आर्थिक वर्षमा बजेट पेस गर्दा त्यसमध्ये आर्थिक रूपान्तर, विकास समृद्धि, पुर्जी निर्माण, राजश्व प्रशासनको सुदृढीकरण, कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार, शिक्षा, सूचना प्रविधि, औद्योगिक विकास बारे बजेमा उल्लेख गरिएको बुँदाहरू कसरी कार्यान्वयन भइरहेको छ ।

त्यस विषयको उपलब्धिबारे बजेट निगरानी गर्ने उद्देश्य अनुरूप निगरानी कार्यक्रमको शुभारम्भ भएको बताए ।
कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहता, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी कार्यक्रममा सहभागी थिए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका महानिर्देशक विजयहरी शर्माले कोशी प्रदेश सरकारले प्रत्येक आर्थिक वर्षमा बजेट प्रस्तुत गर्दा उद्योगी व्यवसायी उत्साहित हुने तर विभिन्न कारणले बजेट कार्यान्वयन नहुँदा जनताले उपलब्धि पाउँदैन । यो बिचको खाडललाई पुर्न नेपाल उद्योग परिसंघले प्रयास गरेको बताए ।