सुन–चाँदी व्यवसायीद्वारा आन्तरिक राजश्व कार्यालय विराटनगर अगाडि धर्ना 

  • ब्रह्मदेव यादव, विराटनगर ८७९  पटक हेरिएको

सोमबार, आषाढ २३, २०८२ समय : १४:०८:४७ , १० महिना अगाडि

मोरङ र सुनसरीका सुन व्यवसायीहरूले नेपाल सरकारको अव्यवहारिक कर नीतिको विरोध गर्दै सोमबार आन्तरिक राजश्व कार्यालय विराटनगर अगाडि धर्ना दिएका छन् । नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष शशिभुषण साह, नेपाल सुन–चाँदी व्यवसायी संघ उर्लाबारीका अध्यक्ष अशोक धिमाल, नेपाल सुन–चाँदी व्यवसायी संघ सुन्दरहरैंचाका महासचिव विवेक न्यौपाने, नेपाल सुन–चाँदी व्यवसायी संघ लेटाङका उपाध्यक्ष रुद्र घिमिरेले, नेपाल सुन–चाँदी व्यवसायी संघ इनरुवाका सचिव अमृत सोनी धर्ना सभालाई सम्बोधन गर्दै सरकारले माँग पुरा नगरेसम्म आन्दोलनको कार्यक्रम जारी रहने बताए ।

विराटनगर–९, ठाकुरवाडी रोडस्थित नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङको कार्यालय अगाडिबाट व्यवसायीले र्‍याली निकालेर आन्तरिक राजश्व कार्यालय विराटनगर पुगेका थिए । ३ सय भन्दा बढी सुन–चाँदी व्यवसायीहरू सोमबारको आन्दोलनमा सहभागी भएका थिए । नेपाल सुन–चाँदी व्यवसायी संघले सोमबार विराटनगरको प्रचण्ड गर्मीका बिच आन्तरिक राजश्व कार्यालय अगाडिको मुख्य सडकमा छाता ओढेर धर्नामा बसेका थिए ।

नेपाल सुन–चाँदी व्यवसायी एउटै छाता मुनी आवद्ध रहेको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ छाता ओढेर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट विनियोजन गर्दा सुनको हरेक गहनाको खरिद बिक्रीमा २ प्रतिशत बिलासी कर र सुनको गहनामा जडान गरिने पत्थर, हिरा जवाहरातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेका थिए ।

सरकारले सुन आयात गर्दा १० प्रतिशत अग्रिम भन्सार महसुल कर असुली गरिरहेका छन् । थप गरिएको कर खारेजको माँग गर्दै नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङले ३ हप्तादेखि अनिश्चित कालका लागि सुन पसल बन्द राखेका छन् । र सरकारका विरुद्ध सडक आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीले पहिलो चरणको आन्दोलन सुरु गर्नु भन्दा अगाडि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य मार्फत नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई थप गरिएको कर खारेजको माँग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

सुन–चाँदी व्यवसायीले कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्की, प्रमुख राजनीतिक दलका पदाधिकारीलाई समेत ज्ञापन पत्र बुझाउँदै थप गरिएको कर खारेजको लागि पहल गरिदिन आग्रह गरेका थिए । तर संयुक्त रूपमा सरकार सञ्चालन गरिरहेका देशका दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू टसमस नहुँदा व्यवसायीको समस्या ज्यूकात्यू छ । र व्यवसायी पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सुन–चाँदी व्यवसायी व्यवसायी महासंघ कोशी प्रदेशका कोषाध्यक्ष मनोज अग्रवाल, प्रदेश सदस्य महेशकुमार साह स्वर्णकार, नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका अध्यक्ष शशिभुषण साह, उपाध्यक्ष कमलेश अग्रवाल (आभुषण ज्वेलर्स), महासचिव कमलेश अग्रवाल (शुभम् ज्वेलर्स), संघका संस्थापक सदस्य जुगल किशोर राठी, बिजय राठी, किशन तापडिया, सरकारले थप गरिएको अव्यवहारिक कर नीतिको विरुद्ध आन्दोलनको नेतृत्व गरिरहेका छन् ।