- ब्रह्मदेव यादव, विराटनगर ५३१ पटक हेरिएको
मंगलबार, माघ १३, २०८२ समय : १५:२७:५८ , ४ घन्टा अगाडि
प्रतिनिधि सभा सदस्यका लागि ५ जना मारवाडी उम्मेदवार मोरङ जिल्लाबाट चुनावी मैदानमा उत्रिएका छन् । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि ठुलादेखि साना राजनीतिक दलले मोरङका ५ जना मारवाडी समुदायलाई उम्मेदवार बनाएका छन् ।
नेकपा एमाले अरू दलभन्दा एक कदम अगाडी बढेर २ जना मारवाडी समुदायलाई उम्मेदवार बनाएका छन् । एमालेले मोरङ २ बाट दिलीप बगडिया (अग्रवाल) र मोरङ ५ बाट मनोज अग्रवाललाई उम्मेदवार बनाएका छन् । बगडिया मोरङको रंगेली नगरपालिकाका पूर्वमेयर हुन् ।
बगडियालाई मेयर पदबाट राजीनामा गर्न लगाएर मोरङ २ बाट एमालेले उम्मेदवार बनाएको हो । बगडिया पहिलो पटक नेपाली कम्यूनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) बाट र दोस्रो पटक नेकपा एमालेबाट रंगेली नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
रंगेलीमा गरेको विकास निर्माण कार्यलाई आधार बनाएर एमालेले मोरङ २ बाट जित निकाल्ने उद्देश्यका साथ बगडीयालाई उम्मेदवार बनाएको हो । एमालेले मोरङ ५ बाट युवा मनोज अग्रवाललाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले मोरङ ५ बाट फुलकुमार लालवानीलाई उम्मेदवार बनाएका छन् ।
कांग्रेसले मोरङ ५ बाट जित निकाल्ने उद्देश्यका साथ लालवानीलाई उम्मेदवार बनाएको हो । हर्कराज राई (सामपाङ) को श्रम सांस्कृतिक पार्टीले मोरङ ४ बाट कृष्ण अटललाई उम्मेदवार बनाएको छ ।
अटल भष्ट्राचार विरोधी अभियानताको रूपमा चिनिन्छ । अटलले भ्रष्ट्राचार विरुद्धमा आन्तरिक राजश्व कार्यालय विराटनगरमा एक महिना र जिल्ला प्रशासन कार्यालय मोरङमा ३० दिनसम्म एकल अभियानताको रूपमा धर्नामा बसेका थिए ।
बाबुराम भट्टराई र जनार्दन शर्माको प्रगतिशिल लोकतान्त्रिक पार्टीले विराटनगरका राकेश सुरानालाई मोरङबाट समानुपातिक उम्मेदवारको सूचिमा नाम समावेश गरेका छन् । उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुराना हाइड्रो पावर र ऊर्जा विज्ञको रुपमा चिनिन्छ ।
प्रगतिशिल लोकतान्त्रिक पार्टीले देशलाई उर्जा विज्ञको रूपमा राज्यको नेतृत्व गर्नको लागि निजी क्षेत्रको तर्फबाट मधेसी कोटाबाट ५औं नम्बरमा सुरानाको नाम समावेश गरेको छ । अल्पसङ्ख्यक मारवाडी समुदायबाट मोरङ जिल्लामा एकैपटक ५ जना प्रतिनिधि सभा सदस्य उम्मेदवार भएको यो पहिलो रेकर्ड हो ।