- ब्रह्मदेव यादव, विराटनगर १३८ पटक हेरिएको
मंगलबार, भाद्र १६, २०८३ समय : १४:५३:५० , २ घन्टा अगाडि
मोरङ उद्योग व्यापार संघ ७५औं वर्षमा प्रवेश गरेको छ । ७५औं वर्ष प्रवेश सँगै मोरङ उद्योग व्यापार संघले मंगलबार विराटनगरमा ६९औं वार्षिक साधारण सभा मनाएको छ ।
संघले ६९औं वार्षिक साधारण सभामा पूर्वअध्यक्षहरु सुरेश शर्मा, देवेन्द्रराज गढिया, ताराचन्द खेतान, नन्दकिशोर राठी, खेमचन्द जैन, शंकरलाल अग्रवाल, महेश जाजु, पवनकुमार सारडा, अविनाश बोहरा र निवर्तमान अध्यक्ष नविन रिजाललाई सम्मान गरेका छन् ।
२००७ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो तथा ऐतिहासिक निजी क्षेत्रको संस्था मोरङ उद्योग व्यापार संघलाई यो उचाईमा ल्याइपुर्याउन गरेको योगदानको कदर गर्दै पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको संघका अध्यक्ष अनुपम राठीले बताए ।
६९औं वार्षिक साधारण सभाका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले पूर्वअध्यक्षहरुलाई सम्मान–पत्र प्रदान गरेका थिए ।

मोरङ उद्योग व्यापार संघ ७५औं वर्षमा प्रवेश गर्दा संघको नाम परिवर्तन भएको छ । मोरङ व्यापार संघको ३३औं कार्यसमितिका अध्यक्ष नविन रिजालको कार्यकालमा मोरङ व्यापार संघको नाम परिवर्तन भएर मोरङ उद्योग व्यापार संघ भएको हो ।
मोरङ उद्योग व्यापार संघमा एउटै परिवारबाट ३ पुस्ताले अध्यक्ष पदको नेतृत्व सम्हालेको इतिहास कायम भएको छ । विराटनगरका प्रतिष्ठित औद्योगिक घरानाबाट आस्करण राठी, नन्दकिशोर राठी र अनुपम राठीले मोरङ उद्योग व्यापार संघको अध्यक्ष पदको नेतृत्व सम्हालेको इतिहास कायम भएको छ ।
मोरङ उद्योग व्यापार संघको अध्यक्षको नेतृत्व सम्हालेको पहिलो पुस्ता आस्करण राठीको निधन भइसकेको छ । दोस्रो पुस्ताबाट अध्यक्ष भएका नन्दकिशोर राठी र तेस्रो पुस्ताबाट अध्यक्ष भएका अनुपम राठी मंगलबार संघले ६९औं वार्षिक साधारण सभाको अवसरमा विमोचन गरेको शब्द र तस्बिर संग्रह ७५औं वर्षको दस्ताबेज पुस्तकको विमोचन समारोहमा सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीदेखि संघका अध्यक्ष र पूर्वअध्यक्षहरुले सामुहिक रूपमा ७५औं वर्ष शब्द र तस्बिर संग्रह दस्ताबेज पुस्तकको विमोचन गरेका थिए ।
मोरङ उद्योग व्यापार संघले संकटको बेलामा निजी क्षेत्रको समस्यालाई उठान गरेर त्यसलाई समाधान गराउने खेलेको भूमिकालाई समेटेर तयार पारिएको वृत्तचित्रको प्रस्तुति गरिएको थियो ।