१४ वर्षपछि पर्शुराम गोली काण्डका सुटर थापा पक्राउ

  • ब्रह्मदेव यादव, विराटनगर ११२०  पटक हेरिएको

सोमबार, चैत्र २६, २०८० समय : १७:३३:०५ , ६ महिना अगाडि

नेकपा एमालेका लोकप्रिय युवा नेता पर्शुराम बस्नेत गोली काण्डका सुटर शम्भु थापा १४ वर्षपछि आइतबार विराटनगरबाट पक्राउ परेका छन् । फरार सुचीमा रहेका थापालाई मोरङ प्रहरीको टोलीले आइतबार राती विराटनगर–१६ मिल्स एरिया स्थित उनकै घरबाट पक्राउ गरेका छन् । थापालाई पक्राउ गर्न सिमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय रानी, वडा प्रहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र सशस्त्र प्रहरीबल (एपीएफ) को टाली परिचालन भएको थियो ।

२०६६ सालमा थापाले विराटनगर–८ मधुमारामा नेकपा एमालेका नेता बस्नेतलाई गोली हानेर फरार सूचीमा रहेका थिए । शरीरको संवेदनशिल अङ्गमा गोली लागेका बस्नेत लामो समयको उपचार पछि घर फर्केका थिए । बस्नेतले जिल्ला प्रहरी कार्यालय मोरङमा सुटर थापा विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर गरेका थिए । बस्नेतलाई गोली हानेर १४ वर्षदेखि भारतको दिल्लीमा बस्दै आएका थापा समय समयमा घर विराटनगर आउने जाने गरेका थिए ।

मोरङ प्रहरीले सूचनाको आधारमा आइतबार राती थापालाई उनकै घरबाट पक्राउ गरेको मोरङ प्रहरीका डीएसपी देव जोशीले बताए । थापालाई पक्राउ गर्न गएको प्रहरी टोली माथि उनका परिवार सहित स्थानीयवासीले प्रतिकार गर्दा ड्युटीमा खटिएका धेरै प्रहरी सामान्य रुपमा घाइते भएका छन् । एक महिला प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

थापालाई पक्राउ गर्न सुरुमा सिमा प्रहरी चौकी रानी विराटनगर र इलाका प्रहरी कार्यालय रानीको टोली पुगेका थिए । थापालाई प्रहरीले पक्राउ गरेर लानेबेलामा बिरामी भएको नाटक गरेर बेहोस भएका थिए । स्थानीयवासीको करकापमा आएर प्रहरीले थापालाई हातमा लगाएको हतकडी खोली दिएका थिए । पछि थापा घरबाट भाग्न सफल भएपनि प्रहरीको टोलीले लखेटेर अर्को टोलबाट पक्राउ गर्न सफल भएका छन् । थापालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।