कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रले खरिद गर्‍यो ८ करोड ६० लाखको औषधि

  • ब्रह्मदेव यादव, विराटनगर ४०१  पटक हेरिएको

आइतबार, जेठ ११, २०८२ समय : १६:५५:१५ , १ हप्ता अगाडि

कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र विराटनगरले आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट ८ करोड ६० लाख रुपैयाँ बराबरको औषधि खरिद गरेका छन् । कोशी प्रदेशमा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । एमालेको तर्फबाट हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको हैसियतमा सरकारको नेतृत्व गरिरहेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट भुपेन्द्र राईले कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । पहिला भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री राईलाई पछिल्लो समय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी थपिएको थियो ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै मन्त्री राईले आर्थिक वर्ष सकिने बेलामा कोशी प्रदेशमा औषधि खरिद गर्ने प्रचलन रहेकोले त्यसलाई अन्त गर्ने घोषणा गरेका थिए । तर पनि कोशी प्रदेश सरकारको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रले आर्थिक वर्ष २०८१/०८२ सकिन २ महिना बाँकी रहेको समयमा औषधि खरिद गरेका छन् । सरकारले नेपाली जनतालाई विभिन्न रोगको ९८ प्रकारको औषधि निःशुल्क रूपमा वितरण गरिरहेका छन् ।

कोशी प्रदेशको १४ जिल्लाका पालिकाहरूलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रले ओषधि सहित खोप, परिवार नियोजनका साधन, टेष्ट परीक्षण गर्ने किटहरू खरिद गरेर वितरण गरिरहेका छन् । कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र विराटनगरका निमित्त प्रमुख डा. सुरेश मेहताले आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट पहिलो चरणमा खरिद गरिसकेको ३ करोड रुपैयाँ बराबरको औषधि जेठ २० गते भित्रमा पालिकामा पठाउने काम भइरहेको बताए ।

दोस्रो चरणमा ५ करोड रुपैयाँ बराबरको औषधि खरिदको टेन्डर स्वीकृति भइसकेको छ । र दोस्रो चरणमा खरिद गरिने औषधि असार मसान्त भित्रमा पालिकामा पठाइ सक्ने बताए । प्रदेश आपूर्ति केन्द्रले इ-बिलिङ मार्फत टेन्डर प्रक्रियाबाट औषधि खरिद गर्ने गरेका छन् । भारत र नेपालको औषधि उद्योगदेखि औषधि सप्लायर्स कम्पनीसँग केन्द्रले औषधि खरिद गरिरहेको निमित्त प्रमुख डा. मेहताले बताए ।

१ आर्थिक वर्षमा ३ जना कार्यालय प्रमुख परिवर्तन भएको कारण औषधि खरिद प्रक्रियामा ढिलाई भएको डा. मेहताले बताए । २०८१ फागुन १२ गते औषधि आपूर्ति केन्द्रमा अख्तियारी प्राप्त गरेका डा. मेहताले फास्टट्याक मार्फत टेन्डर आवहान गरेर औषधि खरिद गरेका छन् । औषधि खरिदका लागि १ सय २० दिनको प्रक्रिया पुरा गर्नुपर्छ । कार्यालयले खरिद गर्नुपर्ने जति औषधि र उपकरण सबै ३ महिना भित्रमा खरिद गरेका छन् ।

कार्यालयले अल्ट्रासाउन्ड खरिदका लागि विनियोजन गरेको १ करोड ८० लाख रुपैयाँ मध्येबाट ८७ लाख रुपैयाँमा मात्रै उपकरण खरिद गरिएको डा. मेहताले बताए । कार्यालयले सस्तो मूल्यमा गुणस्तरीय औषधि र उपकरण खरिद गरेका छन् । कोशी प्रदेशमा सर्वसाधारणका लागि वितरण गर्ने गरिएको ९८  प्रकारको औषधि खरिद गर्नका लागि कम्तीमा १ अर्ब रुपैयाँ खर्च हुन्छ तर कोशी प्रदेश सरकारले आर्थिक वर्ष २९८१/०८२ को बजेट मार्फत स्वास्थ्य मन्त्रालयको नाममा २ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेका छन् । जुन रकमबाट कर्मचारीको तलब सुविधा, गाडी, इन्धन खर्चको रकम समावेश छ ।

सरकारले स्वास्थ्य मन्त्रालयको नाममा विनियोजन गरेको रकम आधा भन्दा बढी कर्मचारी व्यवस्थापनमा खर्च हुन्छ । बाँकी रकमले औषधि, उपकरण र खोप खरिद र आपूर्ति गर्न रकम अपुग हुन्छ । कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र विराटनगरले औषधि र उपकरण खरिद गरेर माग अनुसार वितरण गर्ने अख्तियारी प्राप्त निकाय हो । केन्द्रले कोशी प्रदेशमा रहेको १५ वटा जिल्ला सरकारी अस्पताललाई उपकरण र प्रदेशको सबै पालिकामा औषधि वितरण गरिरहेका छन् ।

कोशी प्रदेशको १४ जिल्ला मध्ये उदयपुर जिल्लामा २ वटा सरकारी अस्पताल रहेका छन् । कोशी प्रदेश सरकारले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र विराटनगरको नाममा आर्थिक वर्ष २०८१/०८२ मा ३० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । जस मध्ये ८ करोड ६० लाख रुपैयाँको कार्यालयले औषधि र बाँकी रकमले उपकरण खरिद गरेका छन् ।