विराटनगर महानगरपालिकाले रानी अस्पतालबाट सञ्चालनमा ल्यायो नर्मल डेलिभरी सेवा

  • ब्रह्मदेव यादव, विराटनगर १२८  पटक हेरिएको

मंगलबार, मंसिर ०९, २०८२ समय : १५:३६:५३ , २ घन्टा अगाडि

विराटनगर महानगरपालिकाले वडा नं. १५ को रानी अस्पतालबाट नर्मल डेलिभरी सेवा सञ्चालनमा ल्याएको छ । नियमित परीक्षण गराइ रहेका गर्भवती महिलाले मात्रै महानगरपालिकाको रानी अस्पतालबाट नर्मल डेलिभरी सेवाको सुविधा प्राप्त गर्न सक्ने छ ।

विराटनगर महानगरपालिकाले स्त्री तथा प्रसुती रोग सम्बन्धी स्कील बर्थ एटेन्डेन्ट (एस.बी.ए.) तालिम प्राप्त बी.एस.सी. नर्सिङ कर्मचारीबाट नर्मल डेलिभरी सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ । जसको लागि स्त्री तथा प्रसुती रोग सम्बन्धी डाक्टरको रेखदेखमा बी.एस.सी. नर्सिङ तहको कर्मचारी परिचालन गरेका छन् ।

रानी अस्पतालबाट शल्यक्रिया मार्फत डेलिभरी सेवा प्रदान गर्न नसक्ने विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले जानकारी गराए । विराटनगर महानगरपालिकाको वडा नं. १५ मा १५ बेर्डको रानी अस्पताल र वडा नं. १९ मा ५ बेर्डको बैजनाथपुर अस्पताल सञ्चालनमा ल्याएको छ ।

स्थानीय सरकार विराटनगर महानगरपालिकाले आफ्नै स्रोत र साधनबाट दुवै अस्पताल सञ्चालनमा ल्याएका हुन् । र दुवै अस्पताल सञ्चालनको खर्च विराटनगर महानगरपालिकाले बेहोरी रहेका छन् ।

विराटनगर महानगरपालिकाले वडा नं. १५ मा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेर्डको रानी अस्पताल र वडा नं. १९ मा रहेको हेल्थ पोष्टलाई ५ बेर्डको अस्पताल सञ्चालनका लागि भौतिक संरचनाको निर्माणदेखि आवश्यक उपकरण खरिद गरेका छन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मंगलबार रानी अस्पतालको उद्घाटन गरेका छन् । मेयर कोइरालाले महानगरपालिकाको दक्षिणी क्षेत्रमा बसोबास गरिरहेका वडा नं. १२, १३, १४, १५, १६, १७ र १८ का जनतालाई लक्षित गरेर रानी अस्पताल सञ्चालनमा ल्याएको बताए ।

जुन अस्पतालबाट नर्मल डेलिभरी सेवादेखि सबै प्रकार रोगको उपचार सेवा प्रदान गर्ने बताए । रोग पत्ता लगाउन आवश्यक चेक जाँचका लागि सुविधा सम्पन्न ल्याब सेवा रानी अस्पतालबाटै सञ्चालनमा ल्याइएको मेयर कोइरालाले बताए ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव, जनस्वास्थ्य अधिकृत रमेश कार्की, रानी अस्पतालका इन्चार्ज वरिष्ठ ल्याब टेक्निसियन अधिकृत मणिकचन भगत र विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साह रानी अस्पतालको नर्मल डेलिभरी सेवाको उद्घाटन समारोहमा सहभागी थिए ।

मोरङ जिल्लामा १७ वटा स्थानीय तह रहेका छन् । जसमध्ये विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा सेवा प्रवाहको हिसाबले तेस्रो स्थान आउन सफल भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्