एमाले सचिवमा ढकाल र राईको भिडन्त 

  • चिरफार डटकम, विराटनगर ४७२  पटक हेरिएको

शुक्रबार, मंसिर २६, २०८२ समय : १६:१६:०६ , १ महिना अगाडि

नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनमा सचिव पदका लागि विनोद ढकाल र शेरधन राई बिच भिडन्त हुने भएको छ । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ गते काठमाडौंमा सुरु हुँदै छ ।

२९ गते राष्ट्रिय महाधिवेशनको समापन समारोह हुनेछ । राई पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समूहबाट र ढकाल ओली इतर इश्वर पोखरेलको समूहबाट सचिव पदमा चुनाव लड्न लागेको हो । राई पार्टीका तर्फबाट कोशी प्रदेशका इन्चार्ज रहेका छन् । उनी कोशी प्रदेशको मुख्यमन्त्री भइसकेका छन् । 

ओली समूहबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहित आधा दर्जन भन्दा बढी नेताहरू सचिव पदमा दावी गरिरहेको बेला सबैलाई ब्याक गरेर राईलाई अगाडि सारिएको हो । 

ओलीका विश्वास पात्र राईको पक्षमा मतदान गर्न प्रतिनिधिलाई हिव्प नै जारी गरेका छन् । ओली इतर इश्वर पोखरेलको समूहबाट सचिव पदमा चुनाव लड्न लागेका ढकाल पार्टीका लोकप्रिय नेता हुन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मोरङ जिल्ला अध्यक्षदेखि केन्द्रीय उपाध्यक्षसम्म भइसकेका ढकाल पार्टीको मोरङ जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी पुरा गरिसकेका छन् ।

नेकपा एमालेको मोरङ जिल्ला अधिवेशन र विराटनगर महानगर कमिटीको अधिवेशनमा ओली समूहका उम्मेदवारलाई हराएर आफ्ना पक्षधर उम्मेदवारलाई विजय गराउन ढकाल सफल भएका थिए ।

नेकपा एमालेमा केपी शर्मा ओलीलाई चुनौती दिने नेताको रुपमा बेग्लै पहिचान बनाएका ढकाल अत्याधिक मतका साथ सचिव पदमा निर्वाचित हुने गरी तयारीका साथ चुनावी अभियानमा होमिएका छन् ।