लाइसेन्स भएका सवारी चालकले मात्रै सिटी सफारी कुदाउन पाउने

  • चिरफार डटकम, विराटनगर २२२  पटक हेरिएको

शुक्रबार, चैत्र २०, २०८२ समय : १६:४४:४८ , १९ घन्टा अगाडि

लाइसेन्स भएका सवारी चालकले मात्रै सिटी सफारी चलाउन पाउने व्यवस्था कडाइका साथ लागु हुन लागेको छ । सिटी सफारी चालकलाई यातायात व्यवस्था कार्यालय कोशी विराटनगरले सवारी चालक अनुमति पत्र प्रदान गर्ने व्यवस्था छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शुक्रवार विराटनगरमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा अब लाइसेन्स भएकाहरूले मात्रै सिटी सफारी चलाउन पाउने जोडदार रूपमा आवाज उठेको छ ।

लाइसेन्स सँगै जिल्ला ट्राफिक कार्यालय मोरङले प्रदान गरेको सवारी चालक लेखिएको ज्याकेट अनिवार्य लगाउने व्यवस्था ल्याएको हो । लाइसेन्स नभएका र ज्याकेट नलगाएकालाई सिटी सफारी कुदाउन नपाउने व्यवस्था गर्न लागिएको हो ।

लाइसेन्स प्राप्त नगरुन्जेलसम्म सिटी सफारी नकुदाउन सरोकारवाला निकायले सिटी सफारीका चालकलाई सचेत गराएको छ । लाइसेन्स नभएका चालकले सिटी सफारी कुदाएको खण्डमा सरकारी ऐन बमोजिम कारबाही हुने सरोकारवाला निकायले सिटी सफारीका चालकलाई सचेत गराएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने र विराटनगर महानगरपालिकाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलसहित सरोकारवाला निकायका वरिष्ठ पदाधिकारी नागरिक सुनुवाई कार्यक्रममा सहभागी थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शुक्रवार नागरिक सुनुवाई कार्यक्रममा सहभागी सबै सिटी सफारीका चालकलाई सवारी चालक लेखिएको ज्याकेट वितरण गरेका थिए ।