- ब्रह्मदेव यादव, विराटनगर ३२६ पटक हेरिएको
बिहिबार, चैत्र २६, २०८२ समय : १४:५६:२४ , २ दिन अगाडि
विश्व शान्तिका लागि बिहीबार विराटनगरमा जप कार्यक्रमको आयोजना गर्यो । जैन समाजको अन्तर्राष्ट्रिय संस्था जितो लेडिज विङ्ग विराटनगरले विश्व शान्ति, विश्व कल्याण र आत्म शान्ति कायम होस् भन्ने उद्देश्यका साथ जप कार्यक्रमको आयोजना गरेका थिए । भारत सरकारले ९ अप्रिलका दिन विश्व नवकार महामन्त्र दिवस मनाउने घोषणा गरेका छन् ।

विश्व नवकार महामन्त्र दिवसको अवसरमा बिहीबार विराटनगरमा आयोजना गरिएको जप कार्यक्रममा जैन समाज, इस्कोन विराटनगर, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगर र साधुमार्गी विराटनगरका २ सय भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

विराटनगरको जैन भवन बाहेक जैन समाजले घरघरमा विश्व शान्तिका लागि जप कार्यक्रममा सहभागी भएका थिए । नेपाल सहित विश्व भरीका १ सय ८ देशमा एकै पटक जप कार्यक्रमको आयोजना गरेका थिए ।

जितो लेडिज विङ्ग विराटनगरका अध्यक्ष सन्तोष जैनको अध्यक्षतामा आयोजित जप कार्यक्रमको सञ्चालन सचिव दिपिका सुरानाले गरेका थिए ।

विराटनगर लेडिज सर्कल ५ का अध्यक्ष एवं जितो लेडिज विङ्गका कुसुम लुनियाँले कार्यक्रमको संयोजन गरेका थिए ।
नेपाल स्तरीय तेरापंथी समाजका केन्द्रीय अध्यक्ष दिनेश नौलखा, जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगड र मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानी कार्यक्रममा सहभागी थिए ।
जितो लेडिज विङ्ग विराटनगरका अध्यक्ष सन्तोष जैनले जप कार्यक्रममा सर्वसाधारणको सहभागिता देखेर आफू उत्साहित भएको बताए ।