राज्यसँग स्वीकृति नलिइ पूर्वराजा महेन्द्रको सालिक निर्माण

  • ब्रह्मदेव यादव, विराटनगर ४०४  पटक हेरिएको

शुक्रबार, चैत्र २७, २०८२ समय : १३:३२:३१ , २ दिन अगाडि

राज्यसँग स्वीकृति नलिइकन विराटनगरमा पूर्वराजा महेन्द्र शाहको सालिक स्थापना गर्ने कार्यमा सनातन युवामञ्च नेपाल मोरङ अघि बढेका छन् ।

पूर्वराजा महेन्द्र शाहको सालिक निर्माण गर्नका लागि सनातन युवा मञ्च नेपाल मोरङ विराटनगरले आर्थिक रकम सहयोगका लागि अभियान सुरु गरेका छन् । बैंकमा खाता खोलेर मञ्चले क्यू.आर. कार्ड सार्वजनिक गर्दै आर्थिक सहयोगको नाममा रकम असुली गरिरहेका छन् ।

विराटनगरमा पूर्वराजा महेन्द्र शाहको सालिक निर्माण गर्ने र त्यसका लागि सहयोग रकम संकलन भइरहेको विषयमा राज्य बेखबर छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सालिक निर्माण र आर्थिक रकम सहयोग बारे आफुलाई थाहा नभएको बताए ।

राज्यसँग स्वीकृति नलिकन ऐन र कानुन विपरित पूर्वराजा महेन्द्र शाहको सालिक निर्माण गरेका खण्डमा कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए । सनातन युवा मञ्च नेपाल मोरङ विराटनगरले पत्रकार सम्मेलन गरेर पूर्वराजा महेन्द्र शाहको ईतिहासलाई जिवित राख्नको लागि विराटनगरको महेन्द्र चौकमा पूर्वराजा महेन्द्र शाहको सालिक निर्माण गर्ने गरी अघि बढेको बताए ।

१० लाख भन्दा बढी रकम खर्च गरेर पूर्वराजा महेन्द्र शाहको सालिक निर्माण गर्ने उद्देश्यका साथ अघि बढेको मञ्चका अध्यक्ष नवराज ढकालले बताए । २०६२/०६३ को जनलान्दोलनको क्रममा विराटनगरको महेन्द्र चौकमा रहेको पूर्वराजा महेन्द्र शाहको सालिक आन्दोलनकारीले भत्काई दिएका थिए । त्यसपछि अहिलेसम्म महेन्द्र चौक पूर्वराजा महेन्द्र शाहको सालिक विहिन अवस्थामा छ ।