- चिरफार डटकम, विराटनगर २१७ पटक हेरिएको
मंगलबार, साउन १९, २०८३ समय : १७:४६:०४ , ३ घन्टा अगाडि
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा गरिएको प्रहरी छापामारी विषयलाई लिएर मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एसपी कटवाललाई २४ घण्टा भित्र स्पष्टीकरण बुझाउन उद्री जारी गरेको छ ।
नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले एसपी कटवाललाई पत्र बुझाउँदै २४ घण्टा भित्र ९ बुँदे स्पष्टीकरण पत्रको चित्तबुझ्दो जवाफ नआएको खण्डमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
मोरङ प्रहरीले सोमबार विराटनगर–७ स्थित उद्योगी मुन्दडाको घरमा छापा मारेर पानीटङ्कीदेखि भान्सा कोठासम्मको सामान बाहिर निकालेर खानतलासी गरेका थिए ।
अन्तमा उद्योगी मुन्दडाको घरमा कुनै प्रकारको सामान फेला नपरेपछि क्लिन चिट दिएर मोरङ प्रहरी फिर्ता गएका थिए । उद्योगी मुन्दडाको घरमा भएको छापामारीको विषयलाई लिएर विराटनगरको निजी क्षेत्रले कडा आपत्ति जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा, मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संयुक्त रूपमा विज्ञप्ति निकालेर प्रहरी छापामारीको विरोध र भर्त्सना गरेका छन् ।