शुक्रवार विराटनगरमा सामाजिक सद्भाव र्‍याली

  • चिरफार डटकम, विराटनगर २७१  पटक हेरिएको

बिहिबार, साउन १४, २०८३ समय : १७:४८:०४ , ६ घन्टा अगाडि

सुनसरी जिल्लाको देवानगंज गाउँपालिकाबाट खलबलिएको जातीय एकतालाई कायम राख्नका लागि शुक्रवार विराटनगरमा सामाजिक सद्भाव र्‍याली निकालिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागीबाट उठेको आवाजलाई सम्बोधन गर्न शुक्रवार विराटनगरमा सामाजिक सद्भाव र्‍याली निकालिने टुङ्गो लागेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी गराए ।

शुक्रवार मुस्लिम समुदायले दिनको नमाज पढिसकेपछि ३ बजेपछि सामाजिक सद्भाव र्‍याली निकालिने टुङ्गो लागेको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए । सामाजिक सद्भाव र्‍यालीमा हिन्दु, मुस्लिम सहित विभिन्न समुदायका धर्मगुरुहरूको सहभागिता रहने प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी सहित १५ भन्दा बढी सामाजिक संघ संस्थाका पदाधिकारीदेखि राजनीतिक दलका पदाधिकारी, मुस्लिम समुदायका अगुवाहरूको बैठकमा सहभागिता रहेको थियो ।

मुस्लिम समुदायका अगुवा हसन अन्सारी, उनका छोरा अफताव अन्सारी, मो. फैयाज, वासिम आलमले सामाजिक सद्भाव कायम राख्न आफूहरू सधैँ तत्पर रहेको बताए ।

नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझी, राष्ट्रिय स्वतन्त्र पार्टी मोरङका सभापति कृष्ण निरौला, नेकपा एमाले मोरङका सचिव सोमराज थापा, जनता समाजवादी पार्टी नेपाल मोरङका उपाध्यक्ष मन्थलाल यादवले सामाजिक सद्भाव बिथोल्न खोज्ने जोकोहीलाई प्रशासनले कारबाही गर्नुपर्ने सुझाव दिए ।