देवानगंज घटनाका मृतकलाई २ लाख र पीडितलाई ५० हजार क्षतिपूर्ति दिने कोशी प्रदेश सरकारको घोषणा

  • चिरफार डटकम, विराटनगर ९८  पटक हेरिएको

बुधबार, साउन १३, २०८३ समय : १७:२१:३४ , २ घन्टा अगाडि

कोशी प्रदेश सरकारले सुनसरी जिल्लाको देवानगन्ज–कप्तानगंज घटनाका मृतक परिवारलाई २ लाख र पीडित परिवारलाई जनही ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

सुनसरीको देवानगंज–कप्तानगंज घटनालाई लिएर कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधवार विराटनगरमा आयोजना गरेको सर्वपक्षीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मृतकका परिवारलाई २ लाख र पीडित परिवारलाई जनही ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको हो ।

कोशी प्रदेश सरकारबाट क्षतिपूर्ति लिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीको सिफारिस अनिवार्य गरिएको छ । देवानगंज गाउँपालिकाको वडा नं. ३ स्थित कप्तानगंजमा साउन १० गते आइतबार राती ९ः३० बजे दुई समुदाय बिच भड्किएको  हिंसा र त्यसपछि चलेको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको छ ।

१८ जनाभन्दा बढी घाइते भएका छन् । जसमध्ये केहीको अवस्था नाजुक छ । राज्य पक्षले गोली नचलाएको दाबी गरेको छ । गोली कसले चलायो विषयलाई लिएर नेपाल सरकारको गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान गरिरहेको छ ।

यसै बिच मृतकका परिवारलाई २ लाख र घटनामा घाइते भएका र घर जलेका पीडित परिवारलाई जनही ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय कोशी प्रदेश सरकारले गरेको छ ।

सर्वपक्षीय बैठकमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले देवानगंज–कप्तानगंज घटनामा घाइते भएका व्यक्तिलाई ३ दिनमै २६ लाख रुपैयाँको उपचार गरिएको बताए । घाइतेहरूको विराटनगरको विभिन्न स्थानमा उपचार भइरहेको मन्त्री मेहताले बताए ।

सर्वपक्षीय बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, उद्योग कृषि तथा सहकारी मन्त्री मो. इस्राइल मन्सुली, राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशका सभापति चन्द्र राई, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा सहभागी थिए । मोरङ र सुनसरीका उच्चपदस्थ सुरक्षा निकायका प्रमुखहरू बैठकमा सहभागी थिए ।