“त्रिपक्षीय वार्ताबाट विद्युत समस्या समाधान गरौँ”

  • चिरफार डटकम, विराटनगर २८३  पटक हेरिएको

आइतबार, कार्तिक १६, २०८२ समय : १३:२६:३६ , १ दिन अगाडि

उद्योग संगठन मोरङले त्रिपक्षीय वार्ताबाट विद्युत सम्बन्धी देखिएको समस्या समाधान गर्न सरकारलाई सुझाव दिएको छ ।

उद्योग संगठन मोरङले आइतबार विज्ञप्ती जारी गरेर नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र बिच वार्ता र संवादको माध्यमबाट विद्युतबारे बन्दै गइरहेको जटिल समस्यालाई समाधान गर्न सरकारलाई सुझाव दिएको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नेपालमा उद्योगको लाइन काट्दै जाने हो भने अन्तर्राष्ट्रिय लगानी कर्तामा नराम्रो सन्देश जाने भएकोले अविलम्ब विद्युतबारे उत्पन्न विवादलाई वार्ता र संवादको माध्यमबाट टुंगो लगाउन सरकारलाई सुझाव दिएको हो ।

डेडिकेटेड र ट्रंकलाईन विद्युत महसुलको सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र बिच आ–आफ्ना अडानका कारण रस्साकसी चलिरहेको बेला सरकार परिवर्तन सँगै सृजना भएको समस्या समाधान नभए देशभरीको उद्योग बन्द हुने र लाखौँ मजदुर बेरोजगार हुने भएकोले संगठनले सरकारलाई सचेत गराएका छन् ।