- चिरफार डटकम, विराटनगर ४७५ पटक हेरिएको
आइतबार, मंसिर २८, २०८२ समय : १३:५४:३९ , ४ महिना अगाडि
पहिलो संविधान सभाको निर्वाचनमा मोरङमा नेपाली कांग्रेसको बिउ जोगाउन सफल आमोद प्रसाद उपाध्यायको निधन भएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा उपचार गराइरहेका ९० वर्षीय उपाध्यायको शनिबार राती निधन भएको हो ।
२०६४ साल चैत २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनमा मोरङ जिल्लामा ९ मध्ये नेपाली कांग्रेसले १ निर्वाचन क्षेत्र जित्दा उपाध्याय मात्रै विजयी भएका थिए ।
पहिलो संविधान सभाको निर्वाचनमा मोरङ जिल्लामा उपेन्द्र यादव अध्यक्ष रहेको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले ४ र पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष रहेको तत्कालीन नेकपा माओवादीले ४ सिट जित्दा नेपाली कांग्रेसले १ सिट मात्रै जितेका थिए ।
तत्कालीन मोरङ क्षेत्र नं. १ बाट जित निकाल्न सफल विराटनगर निवास उपाध्याय पछिल्लो समय काठमाडौँमा बसोबास गरिरहेका थिए । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका भाउजु स्व. नोना कोइरालाको उपाध्याय नातामा बहिनी ज्वाइँ पर्छन ।