विराट ट्रेड एक्स्पो बुधबारदेखि

  • ब्रह्मदेव यादव, विराटनगर ४६५  पटक हेरिएको

मंगलबार, पुष ०८, २०८२ समय : १७:०५:४७ , ४ महिना अगाडि

पुस ९ गते बुधबारदेखि विराटनगरमा विराट ट्रेड एक्स्पो सुरु हुन लागेको छ । पुस १९ गतेसम्म शनिबारसम्म विराट ट्रेड एक्स्पो सञ्चालनमा रहने छ ।

मोरङ उद्योग व्यापार संघले विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फको खाली मैदानमा विराट ट्रेड एक्स्पोको आयोजना गर्न लागेको छ ।

जेन्जी आन्दोलनपछि स्थिर अवस्थामा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघको ३४औं कार्यकारिणी समितिका अध्यक्ष अनुपम राठीको टिमले विराट ट्रेड एक्स्पोको आयोजना गर्न लागेको हो । अध्यक्ष अनुपम राठीले संघका सचिव अमित सारडालाई संयोजक र कार्यकारिणी समितिका सदस्य विनित सिंघानियाँलाई सह–संयोजकको जिम्मेवारी दिएर विराट ट्रेड एक्स्पोको आयोजना गर्न लागेको हो ।

संघले २ करोड ५० लाख भन्दा बढी रकम खर्चेर आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ३० स्टल रहेका छन् । विराटनगर सहित कोशी प्रदेश तथा छिमेकी देश भारतका उपभोक्ताले चार देशका औद्योगिक तथा व्यापारिक क्षेत्रको सामानको अवलोकन गरेर खरिद गर्न सक्ने छ ।

अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसको डिस्प्ले र जलपरी विराट ट्रेड एक्स्पोको मुख्य सेल्फीजोनका रूपमा रहेका छन् । एक्स्पोको अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार र चर्चित सांगेतीक ब्याण्डको प्रस्तुति रहने छ । संघले मंगलबार पत्रकार सम्मेलन गरेर विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ ।

विराट ट्रेड एक्स्पोको अवलोकन गर्नका लागि १ सय ५० रुपैयाँ टिकट दर कायम गरिएको छ । २ लाख भन्दा बढी उपभोक्ताले अवलोकन गर्ने विराट ट्रेड एक्स्पोमा २० देखि ३० करोड रुपैयाँ बराबारको कारोबार हुने विराट ट्रेड एक्स्पो संयोजक अमित सारडाले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, पर्यटन व्यवसायी भविष श्रेष्ठ, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह संघद्वारा आयोजित विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पुरा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।

नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार विराट ट्रेड एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।