- ब्रह्मदेव यादव, विराटनगर २८५ पटक हेरिएको
बुधबार, पुष ०९, २०८२ समय : १७:५७:३९ , १७ घन्टा अगाडि
नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले २०८२ फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्न जाँदा नेपाली कांग्रेस र नेकपा एमालेलाई मत नदिन मतदाताहरूलाई आव्हान गरेका छन् ।
भाद्र २३ र २४ गतेको जेन्जी युवा पुस्ताको आन्दोलनपछि गठन भएको सुशिला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ । त्यही सरकारका अर्थमन्त्री खनालले बुधबार विराटनगरमा मोरङ उद्योग व्यापार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको उद्घाटन मन्तव्य व्यक्त गर्दै मतदाताहरूलाई यस्तो आव्हान गरेको हो ।
अर्थमन्त्री खनालले भने– फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन्छ । कुनै पनि हालतमा निर्वाचनको मिति सर्दैन । फागुन २१ गते प्रतिनिधि सभा सदस्यको लागि मतदान गरिरहँदा भाद्र २३ र २४ गते जेन्जी आन्दोलन चलिरहँदा रहेको जस्तो सरकार नचुन्नु भनेको छ ।

भाद्र २३ र २४ गते जेन्जी युवा पुस्ताको आन्दोलन चलिरहँदा देशमा नेपाली कांग्रेस र एमालेको सरकार थियो । अर्थमन्त्री खनालले सिधै भनेका छन्– फागुन २१ गते निर्वाचन गर्न जाँदा पहिलाको सरकार नचुन्नु भनेको कांग्रेस र एमालेलाई मत नदिनु भनेको हो । विराट ट्रेड एक्स्पोको मञ्चमा र मञ्च अगाडीको रोहबरमा कांग्रेस र एमालेका नेताहरु आसन ग्रहण गरिरहेका थिए ।
बाक्लो संख्यामा उद्योगी र व्यवसायी उपस्थिति रहेको थियो । कांग्रेस र एमालेका नेताहरूको अगाडी अर्थमन्त्री खनालले कांग्रेस र एमालेलाई भोट नदिनु भनी रहँदा कांग्रेस र एमालेका कुनै पनि नेता त्यसको प्रतिकार गर्न सकेन । विराट ट्रेड एक्स्पोको मञ्चमा अतिथिको आसन ग्रहण गरिरहेका नेपाली कांग्रेस मोरङका उपसभापति तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उनको पार्टी कांग्रेस प्रतिनिधि सभा निर्वाचन गराउने पक्षमा नरहेको अर्थमन्त्री खनालले आरोप लगाए ।
केही समय मञ्चमा एक साथ बसेका अर्थमन्त्री खनाल र मेयर कोइराला बिच देशको समसामयिक राजनीतिक अवस्था बारे कुराकानी भएको थियो । र दुवै जना बिच गोप्य रूपमा भएको कुराकानीलाई अर्थमन्त्री खनालले बाहिर ल्याइदिएको हो । अर्थमन्त्री खनालले आन्तरिक राजश्व कार्यालयका कर्मचारीले गरिरहेको अवैध असुली रोक्न फुल अडिटमा रोक लगाइएको बताए ।
आन्तरिक राजश्व विभागले उद्योगी तथा व्यापारी प्रतिष्ठानको नामै किटान गरेर पत्र पठाइ फुल अडिटको नाममा आन्तरिक राजश्व कार्यालयका कर्मचारी मार्फत अवैध तरिकाले मोटो रकम असुली गरिरहेका थिए । यसरी हुँदै आएको अवैध असुलीका कारण सरकारलाई कम राजश्व असुली हुने र कर्मचारीले मोटो रकम कमाउने परिपाटी रहेको थियो ।
जेन्जी आन्दोलनपछि सुशिला कार्कीको नेतृत्वमा गठन भएको सरकारले फुल अडिटमा रोक लगाइदिएको अर्थमन्त्री खनालले बताए । तर गल्ती गर्ने उद्योगी तथा व्यापारिक प्रतिष्ठानलाई नछोड्ने अर्थमन्त्री खनालले बताए ।
मोरङ उद्योग व्यापार संघले पुस ९ गतेदेखि सुरु गरेको विराट ट्रेड एक्स्पो १९ गतेसम्म चल्ने छ । नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ३० स्टल एक्स्पोमा रहेका छन् ।