- ब्रह्मदेव यादव, विराटनगर १२५ पटक हेरिएको
शुक्रबार, माघ १६, २०८२ समय : १३:१३:३२ , ३ घन्टा अगाडि
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार बल्लभप्रसाद दाहालले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी बिच खासै भिन्नता नरहेको धारणा राखेका छन् ।
शुक्रबार विराटनगरमा चिरफार डटकम सँग कुरा गर्दै दाहालले पुराना स्थापित राजनीतिक दल कांग्रेस, एमाले, नेकपा र नयाँ दल रासपा एउटै सिक्काका दुई पाटो रहेको बताए । पुराना दल कांग्रेस, एमाले र नेकपा गणतन्त्र पक्षधर पार्टी रहेको र नयाँ उदय भएका राजनीतिक दल, राष्ट्रिय स्वतन्त्र पार्टी पनि गणतन्त्रकै पक्षमा उभिएकोले गणतन्त्र पक्षधरलाई बलियो रूपमा देखा परेको दाहालले बताए ।
अब देशमा गणतन्त्र र राजतन्त्र गरी दुई धारमा जनता उभिएका छन् । गणतन्त्र पक्षधर राजनीतिक दलका नेता भष्ट्राचारमा चुर्लुम्म डुबेको र जनताका छोरा छोरी विदेश पलायन भइरहेकोले देश विकासका लागि राजतन्त्र पक्षधर अगाडी आउनु पर्ने र त्यसको परिपूर्ति राजेन्द्र लिङदेन अध्यक्ष रकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै गर्न सक्ने दाहालले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई चटके र सर्कसको जोकरको संज्ञा दिदै राप्रपा नेता दाहालले भने– चटके हेर्न मान्छेको भिड लाग्छ । सर्कसको जोकरको कुरा सुनेर मान्छे हाँस्छ । बालेन साहको चरित्र पनि त्यही हो । र जनताले मनोरञ्जन गरिरहेकोले भिडबाट भोट आउँदैन ।
९४ प्रतिशत नेपाली जनता हिन्दु राज्य र राजतन्त्रको पक्षमा उभिएकोले आफ्नो पार्टी राप्रपाले प्रतिनिधि सभाको निर्वाचनमा सानदार जित निकाल्ने दाहालले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू हिन्दु राज्य र राजतन्त्र पक्षधरको पार्टीमा कुनै ठाउँ नरहेको भनाई विदेशी शक्तिको उक्साहटमा आइरहेकोले यी विदेशी एजेन्ट र भरौटेहरूको कुराले सम्पूर्ण नेपाली जनता अपमानित महसुस गरिरहेको राप्रपा नेता दाहालले बताए ।