“मोरङ–५ मा स्थिर मतदाता नै जसपा नेपालको जितको आधार”

  • ब्रह्मदेव यादव, विराटनगर १४९  पटक हेरिएको

आइतबार, माघ १८, २०८२ समय : १३:३३:४७ , ४ घन्टा अगाडि

जनता समाजवादी पार्टी नेपालबाट मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार यादवले स्थिर मतदाता नै जितको आधार बनेको बताएका छन् । २०६२/०६३ को मधेस विद्रोह पछिको पहिलो संविधान सभाको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालले मोरङ क्षेत्र नं. ५ बाट सानदार जित हासिल गरेका थिए ।

पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले पहिलो संविधान सभाको निर्वाचनमा मोरङ ५ बाट सानदार जित निकालेका थिए । त्यस पछिको उपनिर्वाचनमा पार्टीका केन्द्रीय सदस्य जयराम यादवले मोरङ ५ बाट जित निकालेका थिए । त्यस पछिको दुई संसदीय निर्वाचनमा जसपा नेपालबाट मोरङ क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका राजकुमार यादवले हार बेहोरिरहेका छन् ।

२०७४ को संसदीय निर्वाचनमा यादवले १८ हजार ६ सय ४९ र २०७९ को संसदीय निर्वाचनमा १७ हजार ३ सय ९० मत प्राप्त गरेर हार बेहोरेका थिए । २०८२ को प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नं. ५ मा ५ पक्षीय उम्मेदवार बिच भिडन्तको अपेक्षा गरिएको छ ।

मोरङ ५ बाट नेपाली कांग्रेसले फुलकुमार लालवानी, नेकपा एमालेले मनोज अग्रवाल, नेपाली कम्यूनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) बाट शिवकुमार मण्डल, राष्ट्रिय ऊर्जाशील लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष योगेन्द्र मण्डल र जसपा नेपालबाट राजकुमार यादव चुनावी मैदानमा उत्रिएका छन् ।

यही पाँच पक्षीय उम्मेदवार बिच भिडन्तको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टीले महिला नेतृ आशा झालाई उम्मेदवार बनाएको छ । तर मोरङ ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सांगठनीक अवस्था मजबुत नरहेकोले प्रत्यक्ष तर्फ उनी प्रति मतदाताको चासो नरहेको राजनीतिक जानकारको बुझाई छ । मोरङ ५ मा १ लाख १० हजार मतदाता रहेका छन् ।

९० प्रतिशत मधेसी मतदाता रहेको निर्वाचन क्षेत्र मोरङ ५ का कतिपय मतदाता वैदेशिक रोजगारमा रहेका छन् । जसको कारण ७० हजार मत खस्ने अपेक्षा गरिएको छ । मोरङ ५ मा ५ जना बलिया उम्मेदवार मध्ये जसले १५ हजार मत ल्याउँछ उसले जित निकाल्छ । जनता समाजवादी पार्टी नेपालबाट २०७४ र २०७९ मा उम्मेदवार बनेका राजकुमार यादवले १८ हजार मत प्राप्त गरेका थिए ।

अन्य राजनीतिक पार्टीको तुलनामा जनता समाजवादी पार्टी नेपालको स्थिर मतदाता रहेका छन् । र पहिलाको दुई निर्वाचनमा जति मत प्राप्त गरेका थिए । त्यति मतलाई निरन्तरता दिन सकेको खण्डमा जनता समाजवादी पार्टी नेपालको जित पक्का हेको राजनीतिक विश्लेषकको भनाई छ ।

विराटनगर महानगरपालिकाको (१३ देखि १८) ६ वटा वडा, जहदा गाउँपालिकाको पुरै ७ वटा वडा, धनपालथान गाउँपालिकाको पुरै ७ वटा वडा र रंगेली नगरपालिकाको ४, ५ ६ र ७ गरी ४ वटा वडाका जनता मोरङ ५ का मतदाता रहेका छन् । मोरङ ५ मा जनता समाजवादी पार्टी नेपालको १ हजार क्रियाशील सदस्य र ५ हजार साधारण सदस्य रहेका छन् ।

२०७० सालदेखि जनता समाजवादी पार्टी नेपालको मोरङ जिल्ला अध्यक्ष रहेका राजकुमार यादव मोरङ ५ बाट लगातार दुई संसदीय निर्वाचनमा हार बेहोरी रहेका छन् । तर पनि उनी मतदाता माझ गएर जनताको मन जित्ने गरी काम गरिरहेका छन् ।

जसको कारण राजकुमार यादवप्रति मतदाताको रुझान बढ्दो छ । र उनले दुई निर्वाचनमा बेहोरेको हारलाई २०८२ को प्रतिनिधि सभाको निर्वाचनमा विजयीमा बदलिने गरी चुनावी अभियान जारी राखेका छन् ।