- ब्रह्मदेव यादव, विराटनगर १३५ पटक हेरिएको
मंगलबार, माघ २०, २०८२ समय : १३:०९:४२ , ४ घन्टा अगाडि
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव एवं कोशी प्रदेशको तेह्रथुम जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले प्रतिनिधि सभाको निर्वाचनमा राजनीतिक दलहरूको मत घट्न सक्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले सचिव ढकालले राजनीतिक दलहरूले यस अघि प्रतिनिधि सभाको निर्वाचनमा प्राप्त गरेको समानुपातिक मत २०८२ को प्रतिनिधि सभाको निर्वाचनमा घट्न सक्ने बताए ।
एमाले सचिव ढकालले पत्रकार सम्मेलनमा भने– २०८२ फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन बारे एमालेले आन्तरिक सर्वेक्षण गराउँदा राजनीतिक दलको समानुपातिक मत घट्न सक्ने बताए । तर एमालेको प्रत्यक्ष निर्वाचित सिट र समानुपातिक मत घट्न नसक्ने बताए ।
प्रतिनिधि सभाको निर्वाचन पछि एमाले एकल सरकार बनाउने गरी देशको ठुलो पार्टी बन्ने ढकालले बताए । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक तर्फ गरेर सबै भन्दा बढी मत प्राप्त गरेर बालेन्द्र साह (बालेन) देशको प्रधानमन्त्री बन्ने राजनीतिक बहस चलिरहेको बेला एमाले सचिव ढकालको समानुपातिक तर्फ ठुला राजनीतिक दलको समानुपातिक मत घट्न सक्ने अभिव्यक्ति बाहिर आएको छ ।
नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीको तुलनामा ठुला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यूनिष्ट पार्टी, सामाजिक सञ्जालको प्रयोग र प्रचार–प्रसारमा पछाडी रहेको ढकालले बताए । प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष चिना थापाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा एमाले केन्द्रिय सदस्य पर्शुराम बस्नेतको उपस्थिति रहेको थियो ।