कांग्रेसलाई १०० तोला सुनको गहना सहयोग गर्ने ‘आइरन लेडी’ इन्दुदेवी नौलखाको निधन

  • ब्रह्मदेव यादव, विराटनगर ८८९  पटक हेरिएको

मंगलबार, फाल्गुण २६, २०८२ समय : १४:४७:४३ , २ महिना अगाडि

नेपाली कांग्रेसलाई १ सय तोला सुनको गहना सहयोग गर्ने ‘आइरन लेडी’ इन्दुदेवी नौलखाको निधन भएको छ । प्रजातन्त्रको वीर सेनानी, त्याग र साहसीको प्रतिमूर्ति तथा महिला सशक्तीकरणका अभियन्ता ९३ वर्षीय इन्दुदेवी नौलखाको मंगलबार काठमाडौँमा निधन भएको छ ।

स्व. इन्दुदेवी नौलखाका श्रीमान् स्वतन्त्र सेनानी भीमराज नौलखाका श्रीमती हुन् । स्वतन्त्र सेनानी स्व. भीमराज नौलखाको यस अघि नै निधन भइसकेको छ । नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्नको लागि मुक्ति सेनाको गठन गरेका थिए ।

स्वतन्त्र सेनानी स्व. भीमराज नौलखा मुक्ति सेनाका संस्थापक सदस्य भएर हतियार उठाउँदै २००७ सालको क्रान्तिमा होमिएका थिए । नेपाली कांग्रेस २००७ सालको क्रान्तिमा होमिदा आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको बेला स्व. इन्दुदेवी नौलखाले विवाहमा माइती पक्षबाट उपहारमा पाएको १ सय तोला सुनको गहना नेपाली कांग्रेसलाई सहयोग गरेका थिए ।

मंगलबार नै स्व. इन्दुदेवी नौलखाको काठमाडौँ स्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेल मंगलबार काठमाडौँ भोटे बहालस्थित स्व. इन्दुदेवी नौलखाको घरमा पुगेर पार्टीको झण्डा ओढाएका थिए । स्व. इन्दुदेवी नौलखाप्रति कांग्रेसको यो उच्च सम्मान हो ।

स्व. इन्दुदेवी नौलखाका स्व. धनपत नौलखा, सम्पत नौलखा र गणपत नौलखा गरी ३ छोरा र ६ छोरी रहेका छन् । नेपाली कांग्रेसका नेता फुलकुमार लालवानी मंगलबार विराटनगरबाट काठमाडौँ पुगेर स्व. इन्दुदेवी नौलखाको अन्त्येष्टिमा सहभागी भएका थिए । कांग्रेस नेता लालवानी स्व. इन्दुदेवी नौलखाका नजिकका नातेदार हुन् ।