कोशी प्रदेशको ३ जिल्लामा भेटियो बर्डफ्‌लु

  • ब्रह्मदेव यादव, विराटनगर १७३  पटक हेरिएको

मंगलबार, चैत्र १०, २०८२ समय : १५:००:४० , ४ घन्टा अगाडि

कोशी प्रदेशको ३ जिल्लामा बर्डफ्‌लु रोग भेटिएको छ । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा बर्डफ्‌लु रोग भेटिएको पशु क्वारेनटाइन कार्यालय विराटनगरले जानकारी गराएको छ ।

पशु क्वारेनटाइन कार्यालय विराटनगरका सूचना अधिकारी डा. खिला बोगटीले झापा, मोरङ र सुनसरीमा बर्डफ्‌लु रोग भेटिएको पुष्टि भएको जानकारी गराए । पशु चिकित्सक सूचना अधिकारी डा. बोगटीका अनुसार एउटा कृषि फर्ममा भेटिएको बर्डफ्‌लु रोग ७ दिन भित्र झापा, मोरङ र सुनसरीको कुखुरा फारमसम्म पुगेको बताए ।

खुल्ला सिमानाका कारण कुखुरा फर्मका सञ्चालकले भारतबाट सस्तोमा कुखुरा भित्र्याउँदा बोइलर कुखुरामा बर्डफ्‌लु रोग  भेटिएको बताए । यतिखेर बोइलर कुखुरामा बर्डफ्‌लु रोग भेटिने क्रम जारी रहेकोले यसलाई समयमै नियन्त्रण गर्न नसके महामारीको रूपमा लिने डा. बोगटीको भनाई छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहले मोरङको ५ वटा ठुला व्यवसायीक कुखुरा फर्ममा बर्डफ्‌लु रोग भेटिएको बताए । विराटनगरको दाहाल, कटहरीको कामख्या र इ.एन.जेक्ड., उर्लाबारीको अठ्याबारी र सुन्दरहरौंचाको हलेसी महादेव कृषि फर्ममा बर्डफ्‌लु रोग भेटिएको र यसको पुष्टि भइसकेको बताए ।

मोरङको ५ वटा कृषि फर्म र त्यसको चार किल्ला भित्र पर्ने सयौँ घर र घर घरमा सञ्चालित साना कृषि फर्ममा बर्डफ्‌लु रोग भेटिएको र त्यहाँ भेटिएको २० हजारभन्दा बढी बोइलर कुखुरा नष्ट गरिएको डा. साहले बताए । कतिपय व्यवसायीक कुखुरा फर्ममा रहेको सबै कुखुरा बर्डफ्‌लु रोगको कारण मरेको डा. साहले बताए ।