- ब्रह्मदेव यादव, विराटनगर ८०४ पटक हेरिएको
शुक्रबार, चैत्र १३, २०८२ समय : १३:१५:२७ , २ महिना अगाडि
उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको घर निर्माण प्रदर्शनीको दोस्रो दिन शुक्रबार थिमेटिक सेसन मार्फत घर निर्माण गर्दा गुणस्तरीय सामग्री बारे कसरी थाहा पाउने विषयमा विज्ञ मार्फत उपभोक्तालाई विस्तृत रूपमा जानकारी गराएको छ ।
उद्योग संगठन मोरङले काठमाडौँ बाहिर पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरमा चैत १२ देखि १६ गतेसम्म विराटनगर घर निर्माण प्रदर्शनीको आयोजना गरेको छ ।
विराटनगर स्थित जैन भवनको प्राङ्गणमा सुविधा सम्पन्न डोम भित्र ७५ वटा स्टलमा उद्योगी तथा व्यापारी प्रतिष्ठानको सामग्री राखेर घर निर्माण प्रदर्शनीको आयोजना गरेका छन् ।

चैत्र १२ गते बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घर निर्माण प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनीको दोस्रो दिन शुक्रबार उद्योग संगठन मोरङले विज्ञ मार्फत घर निर्माणका लागि चाहिने आवश्यक सामग्रीको गुणस्तरबारे उपभोक्तालाई जानकारी गराएको छ ।
इन्जिनियर अमित गुप्ताले घर निर्माणका लागि चाहिने आवश्यक सामग्री गिटी, बालुवा, रड, सिमेन्ट, मार्बल, टायल्स र पानीको गुणस्तर परीक्षण बारे उपभोक्तालाई जानकारी गराए । इन्जिनियर गुप्ताले घर निर्माण गर्दा उपभोक्ताले खिया लागेको रड र बाङ्गो भएको रड प्रयोग नगर्न उपभोक्तालाई सल्लाह दिए ।
घर निर्माणका लागि सबै भन्दा महत्त्वपूर्ण सामग्री सिमेन्टको ल्याब परीक्षण गराएर मात्रै घर निर्माण गर्न इन्जिनियर गुप्ताले उपभोक्तालाई सल्लाह दिए ।
इन्जिनियर गुप्ताले लामो समयसम्म स्टोरेज गरेर गोदाममा राखेको सिमेन्ट घर निर्माणमा प्रयोग गर्दा त्यसको ५० प्रतिशत क्षमता घट्ने जानकारी गराए ।
उपभोक्ताले घर निर्माण गर्दा सकेसम्म भर्खरै उत्पादन भएको सिमेन्ट प्रयोग गर्न सुझाव दिए । घर निर्माण गर्दा सकेसम्म गोलो गिटी प्रयोग गर्नु हुँदैन । फोडेको चारपाटे गिटी प्रयोग गर्दा बलियो घर निर्माण हुने इन्जिनियर गुप्ताले उपभोक्तालाई जानकारी गराए ।
घर निर्माण गर्दा बालुवा र पानीको समेत ल्याब परीक्षण गराएर मात्रै ती सामग्री घर निर्माणमा प्रयोग गर्न उपभोक्तालाई सुझाव दिए । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको अध्यक्षतामा थिमेटिक सेसन सञ्चालन भएको छ ।