घर निर्माण प्रदर्शनीबाट निजी क्षेत्र उत्साहित बनेको छ– अध्यक्ष राठी

  • ब्रह्मदेव यादव, विराटनगर ५१२  पटक हेरिएको

मंगलबार, चैत्र १७, २०८२ समय : १६:१३:३५ , १ महिना अगाडि

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नयाँ घर बनाउने सपना बोकेका सबै वर्ग र समूहले घर निर्माण प्रदर्शनी २०८२ को अवलोकन गरेको बताउनु भएको छ । भव्य र सब्य रूपमा आयोजना गरिएको घर निर्माण प्रदर्शनी पूर्णरुपमा सफल भएको अध्यक्ष राठीले बताए ।

मंगलबार विराटनगरमा चिरफार डटकमसँग कुरा गर्दै उद्योग संगठन मोरङका अध्यक्ष राठीले भने– घर बनाउने सपना बोकेका मजदुरदेखि निम्नवर्ग, मध्यम वर्ग र उच्च वर्गले घर निर्माण प्रदर्शनीको अवलोकन गरेको छ । उद्योग संगठन मोरङले काठमाडौँ बाहिर पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरमा घर निर्माण प्रदर्शनीको आयोजना गरेका थिए ।

संगठनले चैत्र १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा आयोजना गरेको घर निर्माण प्रदर्शनीको ७ हजारभन्दा बढी घर निर्माणको सपना बोकेका उपभोक्ताले एउटै थलोबाट घर निर्माणको लागि चाहिने सम्पूर्ण सामग्रीबारे थाहा पाउनु घर निर्माण प्रदर्शनीको ठुलो उपलब्धि रहेको अध्यक्ष राठीले बताए ।

घर निर्माण प्रदर्शनी सम्पन्न गर्न ३५ लाख भन्दा बढी रुपैयाँ खर्च भएको अध्यक्ष राठीले बताए । रड, सिमेन्टमा आत्मनिर्भर रहेको नेपाल अब घर निर्माणका लागि चाहिने मावर्ल्स र टायल्समा समेत आत्मनिर्भर रहेको घर निर्माण प्रदर्शनीबाट सन्देश प्रवाह भएको अध्यक्ष राठीले बताए ।

घर निर्माण प्रदर्शनीमा मावर्ल्स र टायल्सका ८ वटा ठुला कम्पनीको सहभागिता रहेको थियो । नेपाली मावर्ल्स र टायल्स उद्योगबारे उपभोक्ताले घर निर्माण प्रदर्शनीबाट थाहा पाउनु घर निर्माण प्रदर्शनीको ठुलो उपलब्धि ठानिएको अध्यक्ष राठीले बताए ।

स्वदेशी उद्योगको उत्पादनलाई प्रवर्द्धन गर्ने र शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ आयोजना गरिएको घर निर्माण प्रदर्शनीबाट घर निर्माण सम्बन्धी सामग्री उत्पादन गरिरहेको निजी क्षेत्र उत्साहित भएको अध्यक्ष राठीले बताए ।

घर निर्माण प्रदर्शनीमा सहभागिता जनाएका सबै कम्पनीका सञ्चालन खुसी भएर घर फर्किएको अध्यक्ष राठीले बताए । घर निर्माण प्रदर्शनीमा सहभागिता जनाएका सबै उद्योगका सञ्चालकले प्रत्येक वर्ष यस्तो प्रकारको प्रदर्शनीको आयोजना गर्नुपर्ने आवाज उठेको अध्यक्ष राठीको भनाई छ ।

घर निर्माण प्रदर्शनीमा कम्पनीले भित्र्याएको नयाँ प्रविधि र त्यहाँबाट उत्पादन भइरहेको नयाँ उत्पादन बारे उपभोक्ताले जानकारी पाएको अध्यक्ष राठीले बताए ।

घर निर्माण प्रदर्शनीमा संगठनले आयोजना गरेको थिमेटिक सेसनमार्फत घर बनाउँदा घरमा लाग्ने किरा तथा धमिरा, घर चुहिने, सनातन धर्ममा घर बनाउँदा बास्तुशास्त्रको विशेषता, स्मार्ट होम, भूकम्प रहित घरको बारेमा उपभोक्ताले विस्तृत रूपमा जानकारी पाएको अध्यक्ष राठीले बताए ।

घर निर्माण प्रदर्शनीबाट अपार सफलता प्राप्त गरेको उद्योग संगठन मोरङले २०८३ साल पुस ९ देखि १९ गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो आयोजना गर्ने तयारी थालिएको अध्यक्ष राठीले बताए ।

निजी क्षेत्रले पटक पटक आयोजना गरिरहेको मेला, महोत्सव र एक्स्पोमा प्रदर्शनी स्थल निर्माणका लागि मोटो रकम खर्च भइरहेकोले खर्च कटौती गर्न सरकारले सुनसरी–मोरङ औद्योगिक करिडोरमा उद्योग सञ्चालन गरिरहेको उद्योगीको उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्न सरकारले प्रदर्शनी स्थल निर्माण गरिदिनु पर्ने अध्यक्ष राठीले माँग गरेका छन् ।

सरकारले प्रदर्शनी स्थल निर्माण गरिदिएको खण्डमा निजी क्षेत्रले आफ्‌नो उत्पादनलाई प्रवर्द्धन गर्नको लागि प्रत्येक महिना मेला, महोत्सव र एक्स्पोको आयोजना गर्ने र जसबाट उपभोक्ताले लाभ उठाउन सक्ने अध्यक्ष राठीको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित