- ब्रह्ममदेव यादव, विराटनगर ३२१ पटक हेरिएको
शनिबार, आषाढ २०, २०८३ समय : २१:२७:१८ , १८ घन्टा अगाडि
विराटनगर भन्सार कार्यालयको राजश्व असुली प्रतिशत प्रति सङ्घीय सरकारका गृहमन्त्री सुदन गुरुङले असन्तुष्टि जनाएको छ ।
गृहमन्त्री गुरुङले शनिवार विराटनगर भन्सार कार्यालयको अवलोकन गरेर विगत ४ वर्षदेखिको राजश्व असुली प्रतिशत प्रति असन्तुष्टि जनाएको विराटनगर भन्सार कार्यालय निकट समाचार सूत्रले जानकारी गराएको छ ।
कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य भेटाउन सकिरहेको छैन । शनिवार कालीमाटी जान्छु भनेर घरबाट निस्केका गृहमन्त्री गुरुङ हवाइजाहाज चढेर विराटनगर आइपुगेका थिए ।
देशको सुरक्षा निकायको जिम्मेवारी सम्हाली रहेका गृहमन्त्री गुरुङ अर्थ मन्त्रालय मातहत रहेको विराटनगर भन्सार कार्यालयको राजश्व असुली प्रतिशतको जानकारी लिन कार्यालयमै पुगेका थिए ।
नातेदारको मृत्यु पछि १० दिनको बिदामा रहेका विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठको अनुपस्थितिमा निमित्त प्रमुख भन्सार अधिकृतको जिम्मेवारी सम्हाली रहेका भीमराज आङदेम्बेले विगत ४ वर्षदेखि भइरहेको राजश्व असुली प्रतिशत बारे गृहमन्त्री गुरुङलाई जानकारी गराएका थिए ।
गृहमन्त्री गुरुङ आधा घण्टासम्म निमित्त प्रमुख भन्सार अधिकृत आङदेम्बेसँग छलफल गरेका थिए । गृहमन्त्री गुरुङ निमित्त प्रमुख भन्सार अधिकृत आङदेम्बेसँग छलफल गरिरहँदा सुरक्षाकर्मीले कसैलाई भित्र प्रवेश गर्न दिएन ।
भन्सार राजश्व असुली प्रति असन्तुष्टि जनाउँदै गृहमन्त्री गुरुङले भन्सार राजश्व शीर्षकको दर परिमार्जन गरेर भए पनि राजश्व असुली प्रतिशत बढाउन निमित्त प्रमुख भन्सार अधिकृत आङदेम्बेलाई निर्देशन दिएको भन्सार कार्यालय निकट समाचार सूत्रले जानकारी गराएको छ ।
विराटनगर भन्सार कार्यालयमा आबद्ध भन्सार एजेन्टहरूले गृहमन्त्री गुरुङलाई भेटेर राजश्व असुली बढाउनको लागि भन्सार राजश्व ऐनमा परिमार्जनको आवश्यकता रहेको सुझाव दिएका थिए ।
विराटनगर भन्सार कार्यालय पुग्नुभन्दा अगाडी गृहमन्त्री गुरुङ नेपाल–भारतको अन्तर्राष्ट्रिय सिमाना रानी नाकाको अवलोकन गरेका थिए ।
त्यो भन्दा अगाडी गृहमन्त्री गुरुङ नेपाल प्रहरीको कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेसँग छलफल गर्दै तस्करी र गुण्डागर्दी अन्त्य गर्न निर्देशन दिएका थिए ।