- चिरफार डटकम, विराटनगर ८३ पटक हेरिएको
बिहिबार, आषाढ ११, २०८३ समय : १६:५३:११ , २ घन्टा अगाडि
कोशी प्रदेश लगानी प्राधिकरण ७औं वर्षमा प्रवेश गरेको छ । प्रदेश लगानी प्राधिकरणको कार्यालय विराटनगरको प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरण स्थापना भएदेखि अहिलेसम्मको प्रगति विवरण सार्वजनिक गरे ।
कोशी प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते विराटनगरमा आयोजना गरेको पहिलो प्रदेश लगानी सम्मेलन मार्फत ५१ परियोजनामा १ खर्ब ५७ अर्ब लागतको समझदारी पत्रमा हस्ताक्षर भएको प्रमुख कार्यकारी निर्देशक डा. कोइरालाले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको लगानी प्राधिकरणको ३३औं बैठकले सार्वजनिक–निजी साझेदारी अन्तर्गत २ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको ४ वटा परियोजनाको लगानी स्वीकृति गरेको छ ।
कोशी प्रदेश सरकारले धनकुटा जिल्लाको भेडेटारमा निर्माण गरेको “भेडेटार स्काई वाक” लाई सफल परियोजनाको रूपमा व्याख्या गरेको छ । सार्वजनिक निजी सहकारी साझेदारी अवधारणामा आधारित “भेडेटार स्काइ वाक” परियोजनाबाट कोशी प्रदेश सरकारले प्रत्येक वर्ष ४० लाख रुपैयाँ आम्दानी गरिरहेको छ । कोशी प्रदेश सरकारको आर्थिक सल्लाहकार मोहन सुवेदी लगानी प्राधिकरणको पत्रकार सम्मेलनमा सहभागी थिए ।