- चिरफार डटकम, विराटनगर १४५ पटक हेरिएको
बिहिबार, आषाढ ३२, २०८३ समय : १५:२९:४९ , ५ घन्टा अगाडि
कोशी प्रदेशमा सरकार छोड्ने कि नछोड्ने विषयमा नेपाली कांग्रेस भित्र फरक मत देखा परेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने कि नलिने विषयमा निर्णय गर्न बिहीबार विराटनगरमा बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक कुनै निष्कर्षमा नपुगी टुङ्गिएको छ ।
अर्को बैठक कहिले बस्ने विषयमा कुनै निर्णय नभएको कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए । २०८१ भाद्र २८ गतेदेखि कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी छ ।
नेकपा एमालेबाट हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री रहेका छन् । पहिलो पटक कांग्रेसबाट मन्त्री भएकाहरू फिर्ता भइसकेका छन् ।
दोस्रो पटक प्रदिपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, भीम पराजुली पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर लिम्बु, स्वास्थ्य मन्त्री मो. इसाइल मन्सुरी, उद्योग कृषि तथा सहकारी मन्त्री र शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्य मन्त्री रहेका छन् ।
कोशी प्रदेशमा एमाले र कांग्रेस बिच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भद्र सहमति भएकै हो । एमालेको कार्यकाल सकिएपछि मुख्यमन्त्री कार्की सरकार छोड्न तयार छैन ।
कांग्रेस सँग सहकार्य तोडेर मुख्यमन्त्री कार्की नेकपालाई सरकारमा सहभागी गराउने तयारी सुरु गरेको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९ र नेकपाको १७ सांसद रहेका छन् ।
बहुमतका लागि ४७ सांसद आवश्यक रहेको छ । एमाले सँग ४० र नेकपा सँग १७ सांसद रहेकोले कोशी प्रदेशमा यी दुई दलले सहजै बहुमत साबित गर्न सक्छ ।