विराटनगर लेडिज सर्कल–५ ले श्री सिद्धकाली विद्यालयमा निर्माण गरेको खेल भवन हस्तान्तरण गर्‍यो

  • ब्रह्मदेव यादव, विराटनगर ११९  पटक हेरिएको

सोमबार, आषाढ २९, २०८३ समय : १८:१६:०२ , १ घन्टा अगाडि

विराटनगर लेडिज सर्कल–५ ले ४ लाख भन्दा बढी रकम खर्चेर विराटनगर महानगरपालिकाको वडा नं. ५ स्थित श्री सिद्धकाली आधारभूत विद्यालयमा निर्माण गरेको बेग्लै खेल भवन सोमबार हस्तान्तरण गरेको छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र विराटनगर लेडिज सर्कल–५ का अध्यक्ष कुसुम लुनियाँले सोमबार एक भव्य समारोहका बिच श्री सिद्धकाली आधारभूत विद्यालयका प्रधानाध्यापक भोजकुमार अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादवलाई खेल भवन निर्माण पुरा भएको प्रमाण–पत्र हस्तान्तरण गरेका थिए ।

विद्यालयमा बाल कक्षादेखि कक्षा ५ सम्म २ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेल भवनमा खेल सामग्री मार्फत मनोरञ्जन प्राप्त गर्न थप मदत मिल्ने उद्देश्यका साथ खेल भवन निर्माण गरिएको विराटनगर लेडिज सर्कल–५ का अध्यक्ष कुसुम लुनियाँले बताए ।

विराटनगर लेडिज सर्कल–५ ले श्री सिद्धकाली आधारभूत विद्यालयको अपनत्व लिएको छ । र विद्यालयको भवन निर्माणदेखि शैक्षिक स्तर उन्नतीका लागि काम गरिरहेको छ ।

विराटनगर लेडिज सर्कल–५ ले महिलाहरूलाई स्वावलम्बी बनाउनका लागि २२ जना महिलालाई ब्युटी पार्लर सम्बन्धी २ महिने तालिम र १० जना महिलालाई सिलाई कटाई तालिम उपलब्ध गराएका थिए ।

तालिम प्राप्त गरेका महिलालाई कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र विराटनगर लेडीज सर्कल–५ का अध्यक्ष कुसुम लुनियाँले प्रमाण–पत्र वितरण गरेका थिए ।

कार्यक्रममा विराटनगर लेडिज सर्कल–५ का सदस्यहरू विशाका कौचर, डा. अंकिता राठी, डोली अग्रवाल, मनिषा अग्रवाल, नैना अग्रवाल, अनिता वंशल र गरिमा अग्रवाल सहभागी थिए । विराटनगर लेडिज सर्कल–५ मा कुसुम लुनियाँले २०२५/०२६ का लागि अध्यक्ष पदको जिम्मेवारी सम्हालेपछि महिला सशक्तीकरण र समाज परिवर्तनको क्षेत्रमा महत्त्वपूर्ण काम गरेका छन् ।

अध्यक्ष लुनियाँको कार्यकालमा विराटनगरमा रहेको एलिना कुकुर सेन्टरलाई १ लाख रुपैयाँ र काठमाडौंको भक्तपुरमा अटिजम स्कुल भवन निर्माणकालागि ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

विराटनगर लेडिज सर्कल–५ ले विराटनगर स्थित आमाको माया छात्रावासका बालबालिकालाई ३ महिने कम्प्युटर तालिम उपलब्ध गराएका थिए । केही विद्यार्थीलाई विराटनगर लेडिज सर्कल–५ ले ल्यापटप समेत वितरण गरेका छन् ।

यसको साथै विराटनगरको आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई २५ हजार रुपैयाँ बराबरको सेनेटरी प्याड वितरण गरेका थिए । यस बाहेक विराटनगर–१४ जतुवा स्थित श्रीकृष्ण गौशालामा कार्यक्रम गरेर ७ सय ५० जना गरिब तथा विपन्न परिवारलाई कपडा वितरण सँगै मिष्टान्न खाना खुवाएका थिए ।