हुलाकी सडक मार्ग अविलम्ब निर्माणकालागि अध्यक्ष देवराज चौधरीलाई ज्ञापन पत्र

  • चिरफार डटकम, विराटनगर ४१५  पटक हेरिएको

बुधबार, चैत्र १५, २०७९ समय : १५:१६:१४ , २ वर्ष अगाडि

हुलाकी सडक मार्गको काम अविलम्ब सुचारु गर्नुपर्ने माँग गर्दै कटहरी गाउँपालिकाबासीले बुधबार अध्यक्ष देवराज चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् । सडक निर्माणमा भईरहेको ढिलाईप्रति कटहरीवासी असन्तुष्टि जनाएको छ ।

हुलाकी मार्ग सडक परियोजनाले कटहरी गाउँपालिकाको सिघिँया नदिदेखि जुडी नदीसम्मको सडक मार्गको निर्माण कार्यमा भईरहेको ढिलाईप्रति असन्तुष्टि जनाउँदै कटहरीवासीले अविलम्ब निर्माण कार्य अगाडि बढाउन पहल गरिदिन अध्यक्ष चौधरीलाई ज्ञापन पत्र बुझाएको हो ।

कटहरीवासीले जनता समाजवादी पार्टी नेपालका कटहरी गाउँपालिका इन्चार्ज मृत्युन्जय झाको अध्यक्षतामा नागरिक संघर्ष समिति गठन गरेको छ । र तिनै संघर्ष समितिका अध्यक्ष झाको नेतृत्वमा बुधबार अध्यक्ष चौधरीलाई अविलम्ब हुलाकी सडक मार्ग निर्माणकोलागि पहल गरिदिन ज्ञापन पत्र बुझाइएको हो ।

बुधबार चिरफार डटकम संग कुरा गर्दै अध्यक्ष चौधरीले सुनसरीदेखि मोरङ हुँदै झापाको सिमानासम्म हुलाकी सडक मार्गको निर्माण कार्य जारी रहेको बताए । हुलाकी सडक मार्ग परियोजनाले निर्माण कार्य सकिसक्नुपर्ने पाएको ठेक्का सम्झौता सकिसकेको छ । तर निर्माण कार्य अस्तव्यवस्त र ठप्प छ परियोजनाले सडक मार्गको विभिन्न सडक खण्डको ठेक्का बेग्लाबेग्लै ठेकेदार कम्पनिलाई दिएकोले निर्माण कार्यमा ढिलाई भईरहेको बताए ।

ठेकेदार कम्पनीले बोल कबोल गरेर लिएको ठेक्का सम्झौताको तुलनामा निर्माण सामग्रीको मूल्य वृद्धि भएकोले ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले निर्माण कार्य गर्न नसक्दा निर्माण कार्यमा ढिलाई भएको हो । कोभिड–१९ महामारीको बेला ठेकेदार कम्पनीले हुलाकी सडक मार्गको निर्माण कार्य गर्ननसक्दा यतिखेर निर्माण कार्य पुरा हुनसकेन ।

ठेकेदार कम्पनीको निर्माण कार्यसम्बन्धी ठेक्का सम्झौताको समय अवधी नबढेसम्म ठेकेदार कम्पनीले गर्ने कामको भुक्तानी नपाउने भएकोले उनिहरु केही समय यता निर्माण कार्य छोडेर ठेक्का सम्झौताको समय अवधि बढाउन शक्ति केन्द्रमार्फत मन्त्रालय धाईरहेका छन् ।

संघर्ष समितिका अध्यक्ष झाले हुलाकी सडक मार्ग निर्माणमा ढिलाई हुँदा सुक्खा समयमा धुलो उड्ने र बर्षायाममा डुवानमा पर्ने भएकोले कटहरीवासी निरन्तर आन्दोलन गर्ने अवस्थामा पुगेको बताए ।