विराटनगरमा पुस २ देखि ११ गतेसम्म विराट एक्स्पो

  • चिरफार डटकम, विराटनगर ८९  पटक हेरिएको

बुधबार, कार्तिक १९, २०८३ समय : १३:३४:१८ , २ घन्टा अगाडि

उद्योग संगठन मोरङले पुस २ देखि ११ गतेसम्म विराटनगरमा विराट एक्स्पो २०२६ को आयोजना गर्न लागेको छ । उद्योग संगठन मोरङले ९औं संस्करणको विराट एक्स्पो आयोजना गर्ने तयारी सुरु गरेको छ ।

यस अघि संगठनले ८औं संस्करणसम्मको विराट एक्स्पो सफलता पूर्वक सम्पन्न गरिसकेका छन् । उद्योग संगठन मोरङले बुधवार विराटनगरमा पत्रकार सम्मेलन गरेर विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो आयोजना गर्न लागेको जानकारी गराए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उपाध्यक्ष विपिन काबरालाई संयोजकको जिम्मेवारी दिएर विराट एक्स्पोको आयोजना गर्न लागेको हो ।

युवालाई सक्षम बनाएर नेतृत्व हस्तान्तरण गर्ने उद्देश्यका साथ उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उपाध्यक्ष विपिन काबरालाई विराट एक्स्पोको संयोजकको जिम्मेवारी सुम्पिएको हो ।

संयोजक काबराले २ लाख ५० हजार उपभोक्ताले अवलोकन गर्ने विराट एक्स्पोमा ३ सय भन्दा बढी उद्योगी तथा व्यापारी प्रतिष्ठानको स्टल रहने जानकारी गराए ।

२ हजार भन्दा बढी युवालाई रोजगारसँग जोड्ने गरी आयोजना गर्न लागेको विराट एक्स्पोमा २० वटा लगानी योग्य स्टार्टअप तथा उद्यमशील परियोजनालाई लगानी कर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्य रहेको संयोजक काबराले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनिल साह, विराट एक्स्पोको पत्रकार सम्मेलनमा सहभागी थिए ।