विराटनगर भन्सार कार्यालयको राजश्व असुली ५० प्रतिशत

  • ब्रह्मदेव यादव, विराटनगर २९८०२  पटक हेरिएको

बुधबार, भाद्र ०६, २०८० समय : १७:२७:३२ , १ वर्ष अगाडि

विराटनगर भन्सार कार्यालयले ५० प्रतिशतले मात्र राजश्व असुली गरिरहेको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा ५५ अर्ब रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले दिएको लक्ष्य अनुसार कार्यालयले प्रत्येक दिन १४ करोड ९७ लाख रुपैयाँ राजश्व असुली गर्नुपर्ने हो । तर प्रत्येक दिन कार्यालयले ८ करोड रुपैयाँको हाराहारीमा राजश्व असुली गरिरहेको छ । जुन लक्ष्यको तुलनामा ५० प्रतिशतले मात्र राजश्व असुली हो ।

भन्सार अधिकृत रमेशबहादुर शाहले विश्व आर्थिक मन्दिको अवस्थाबाट गुज्रिरहेकोले सोचे अनुसार सामान आयात निर्यात नहुँदा लक्ष्यको अनुपातमा राजश्व असुली हुन छोडेको बताए । नेपाल सरकारको अर्थमन्त्रालयले प्रत्येक वर्ष थप २० प्रतिशतले राजश्व असुली वृद्धिको लक्ष्य राखेर राजश्व समूहका कार्यालयलाई लक्ष्य तोक्ने गरेका छन् । अर्थमन्त्रालयले पहिलो पटक २०७९/०८० को तुलनामा २०८०/०८१ का लागि विराटनगर भन्सार कार्यालयको राजश्व असुली लक्ष्य घटाएको हो । २०७९÷०८० मा ६० अर्ब रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको विराटनगर भन्सार कार्यालयले २०८०/०८१ मा ५ अर्ब रुपैयाँ घटाएर ५५ अर्ब रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको छ । तर पनि लक्ष्यको तुलनामा ५० प्रतिशतले मात्र राजश्व असुली हुने गरेको छ ।

करिब ७ महिना अगाडी विराटनगर भन्सार कार्यालय प्रमुखको जिम्मेवारी ज्ञानेन्द्रराज ढकालले सम्हाले लगत्तै राजश्व असुली घट्न थालेको हो । र निरन्तर राजश्व असुली घटिरहेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा ६० अर्ब रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ३४ अर्ब रुपैयाँ मात्र राजश्व असुली गरेका थिए । भन्सार प्रमुख ढकालले लक्ष्यको अनुपातमा राजश्व असुली गर्न जथाभावी व्यवसायीको सामानमा राजश्व असुली दर कायम गर्न थालेपछि व्यवसायी विराटनगर भन्सार कार्यालयबाट पलायन भएर अन्य भन्सार कार्यालय पुगेका छन् ।

विराटनगर भन्सार कार्यालयको राजश्व असुलीको मुख्य स्रोत भारतमा बनेको गार्मेन्ट उद्योगका उद्योगी र व्यवासयी रहेका छन् । तर पछिल्लो समय २० भन्दा बढि भारतीय गार्मेन्ट उद्योगका संचालकहरु विराटनगर भन्सार कार्यालय छोडेर नेपालको अन्य नाका भएर गार्मेन्ट निर्यात गरिरहेका छन् । विराटनगर भन्सार कार्यालयको राजश्व घट्नुमा भारतीय गार्मेन्ट नै रहेका छन् ।

यस बाहेक एक पटक विराटनगर भन्सार कार्यालयबाट सामान आयात गर्ने उद्योगी व्यवसायी अर्को पटक विराटनगर भन्सार कार्यालयबाट सामान आयात गर्न चाहदैनन् र उनीहरु नेपालको अन्य नाकाबाट सामान आयात गर्न रुचाउँछन् । ११ लाख रुपैयाँ राजश्व लाग्ने सामानमा विराटनगर भन्सार कार्यालयले पछिल्लो समय भन्सार प्रमुख ढकालको दवाबमा भन्सार प्रशासनले २८ लाख रुपैयाँ राजश्व लिएर सामान छोडी रहेका छन् ।

जसका कारण पछिल्लो समय विराटनगर सहित पूर्वको बजारमा सामानको मुल्य ५० प्रतिशतले बढेको छ । काठमाडौं, विरगंज, भैरहवाको तुलनामा विराटनगर बजारमा हाडवेयर, विद्युत र कपडाको मुल्य ५० प्रतिशतले बढेको छ । जसको कारण काठमाडौं, विरगंज, भैरहवाबाट सामान ल्याएर विराटनगरमा विक्री गर्ने व्यसायीको सामान सस्तो हुने तर विराटनगर भन्सार कार्यालयबाट भित्र्याएको सामान ५० प्रतिशतले महंगो हुँदा व्यवसायीको कारोबाट समेत धारासाही हुन थालेका छन् । देशको अन्य ठाउँबाट ल्याएको सामान सस्तो हुँदा उसैको सामान विक्री हुने तर विराटनगर भन्सार कार्यालयबाट भित्रीएको सामान महंगो हुँदा विक्री हुन छोडेकोले व्यवसायीको कारोबार समेत प्रभावित भईरहेका छन् ।