कोशी प्रदेश सरकारले काट्यो, विराट गोल्डकपको बजेट

  • ब्रह्मदेव यादव, विराटनगर ३१७  पटक हेरिएको

शुक्रबार, जेठ २५, २०८१ समय : १५:२६:०३ , ४ महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले मोफसलबाट सञ्चालन भई रहेको नेपालको सबैभन्दा पुरानो विराट गोल्डकप फुटबल प्रतियोगिताको बजेट कटौती गरेको छ । कोशी प्रदेशका अघिल्लो मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले विराट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर बहालवाला मुख्यमन्त्री हिक्मत कार्कीले विराट गोल्डकप फुटबल प्रतियोगिताको लागि विनियोजन गरिएको रकम मध्येबाट ५ लाख रुपैयाँ कटौती गरेर २० लाखमा झारेका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले विराट गोल्डकप फुटबल प्रतियोगिताको बजेट कटौती गरेर सुनसरी धरानको बुढासुब्वा गोल्डकप फुटबल प्रतियोगिता र झापा गोल्डकप फुटबल प्रतियोगिताको बजेट वृद्धि गरेका छन् । बुढासुब्वा गोल्डकप फुटबल प्रतियोगिताको बजेट १० लाखबाट बढाएर १५ लाख पुर्‍याइएको छ । झापा गोल्डकप फुटबल प्रतियोगिताको बजेट १५ लाखबाट बढाएर २० लाख रुपैयाँ पुर्‍याइएको छ । नेकपा एमाले अध्यक्ष के.पी. शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की झापा जिल्लाको बासिन्दा हुन् ।

झापा गोल्डकप फुटबल प्रतियोगिताका अध्यक्ष डोमालाल राजवंशी एमाले निकट कार्यकर्ता भएको कारण गोल्डकप फुटबल प्रतियोगिताको बजेट १५ लाखबाट बढाएर २० लाख रुपैयाँ पुर्‍याएको हो । राष्ट्रिय खेलकुद परिषद्ले विराट गोल्डकपलाई प्रत्येक वर्ष दिदै आएको ५ लाख रुपैयाँ पनि कटौती गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषदको नाममा ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले देशभरी सञ्चालन हुने जुन सुकै फुटबल प्रतियोगितालाई वार्षिक रुपमा ५ देखि १० लाख रुपैयाँ बजेट दिन सक्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विराजभक्त श्रेष्ठ, संघिय सरकारमा युवा तथा खेलकुद मन्त्री र नेकपा माओवादी केन्द्रको कोटाबाट टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रहेका छन् । खेल माफियाहरूले संघीय सरकार र कोशी प्रदेश सरकार माथि दवाव श्रृजना गरेर विराट गोल्डकप फुटबल प्रतियोगिताको बजेट कटौती गरेको खेलकुद सँग सरोकार राख्ने एक पदाधिकारीले बताए ।