- ब्रह्मदेव यादव, विराटनगर ६९७ पटक हेरिएको
बुधबार, साउन २३, २०८१ समय : १२:५४:२२ , २ महिना अगाडि
विराटनगर भन्सार कार्यालयमा गलत विवरण सच्याउन भन्सार प्रशासनले २ प्रतिशत रकम तिर्नुपर्ने बाध्यकारी नियम लागू गरेको छ । विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्ट र प्रतिनिधिबाट प्रज्ञापनपत्र भर्दा विवरण गलत भएको खण्डमा २ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने प्रावधान लागू भएको छ ।
यस अघि भन्सार एजेन्ट र प्रतिनिधिहरूले एक पटक प्रज्ञापनपत्रको फारम भरिसकेपछि विवरण गलत उल्लेख भएको खण्डमा निवेदन दर्ता गराएर फारम संशोधन गर्ने व्यवस्था रहेको थियो । तर अहिलेका भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले एक पटक भरिसकेको फारम सच्याउन नपाउने व्यवस्था लागू गरेको छ ।
यदि भरिसकेको फारममा उल्लेख गरिएको विवरण सच्याउने हो भने २ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने व्यवस्था कायम गरिएको छ । उद्योगी व्यवसायीले एक कन्टेनरमा लाखौं, करोडौँको सामान आयात निर्यात गर्ने र जान अन्जानमा फारममा गलत विवरण उल्लेख भएको खण्डमा २ प्रतिशतका दरले लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्थाका कारण थप पीडामा परेका छन् ।
भन्सार एजेन्ट र प्रतिनिधिले फारम भर्दा सामान आयात निर्यातको स्थान गलत विवरण उल्लेख भएको खण्डमा त्यसलाई सच्याउन मिल्दैन । यदि सच्याएको खण्डमा २ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने प्रमुख भन्सार अधिकृत ढकालको नियम कानुनका विरुद्ध उद्योगी, व्यवसायी, भन्सार एजेन्ट र प्रतिनिधि खुलेर विरोध गर्न सकिरहेका छैनन् । कतिपय भन्सार एजेन्ट र प्रतिनिधिले भन्सार अधिकृत सँग सेटिङ मिलाएर फारममा उल्लेख भएको गलत विवरण सच्याइ रहेका छन् । तर कतिपय भन्सार एजेन्ट र प्रतिनिधिले भन्सार अधिकृत सँग सेटिङ नमिलाई सिधै भन्सार प्रमुख ढकाल समक्ष उजुरी लिएर पुग्दा उसले २ प्रतिशत रकम तिर्नै पर्छ ।
यसमा भन्सार प्रमुख ढकाल र भन्सार अधिकृतको सेटिङ रहेको तथ्य बाहिरिएको छ । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार प्रमुख ढकालको भनाई उद्रित गर्दै भन्सार ऐनमा गलत विवरण सच्याउन २ प्रतिशत जरिवाना रकम तिर्नै पर्ने व्यवस्था रहेकोले गलत विवरण उल्लेख गरेर प्रज्ञापन पत्रको फारम भर्ने उद्योगी, व्यवसायी, भन्सार एजेन्ट र प्रतिनिधिले जरिवाना रकम तिरिरहेको बताए ।