मंगलबार विराटनगरमा ऐतिहासिक रथयात्रा निस्कँदै 

  • ब्रह्मदेव यादव, विराटनगर ४७७  पटक हेरिएको

बिहिबार, भाद्र ०६, २०८१ समय : १४:२८:३२ , ४ महिना अगाडि

भाद्र ११ गते मंगलबार विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निस्कँदै छ । वि.सं. १९८८ सालमा खटयात्राबाट सुरु भएको यात्रा २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । यो ९३औं संस्करणको रथयात्रा हो । जुन रथयात्रालाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।

श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर मंगलबार भव्य र सब्य रुपमा रथयात्रा निस्कन लागेको जानकारी गराएको छ । रथयात्रा आयोजक समितिका सचिव कृष्णबहादुर कार्कीले ६ घण्टामा रथयात्राले ९ किलोमिटरको दूरी तय गर्ने बताए ।

यस बिचमा रथले ४३ स्थानमा विश्राम लिने छ । विराटनगर–१ पोखरीया पानीटङ्की स्थित श्रीराधाकृष्ण मन्दिरबाट भाद्र ११ गते मंगलबार ३ः३० बजे निस्कने रथयात्रा लगातार ६ः०० घण्टासम्म नगरक्षेत्रको ९ किलोमिटरको दुरु तय गर्नेछ । पानीटङ्कीबाट निस्कने रथयात्रा मेनरोडबाट रोडशेष चौक र रोडशेष चौकबाट विराटनगर धरान सडक मार्गको बरगाछी हुदै पुनः मन्दिरमा पुगेर समापन हुने छ । रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले ६० भन्दा बढि झाँकी रथयात्रामा सहभागि हुने बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष रेग्मीले भनेः अहिलेसम्म ४६ वटा झाँकी दर्ता भइसकेका छन् । र दर्ता हुने क्रम जारी रहेकोले ६० भन्दा बढि झाँकी रथयात्रामा सहभागि हुनेछन् । उपाध्यक्ष नन्दकिशोर राठीले रथयात्रामा व्यवसायीक विज्ञापन माथि प्रतिबन्ध लगाइएको बताए । एउटै कम्पनीका दर्जनौं भेष्ट लगाएर रथयात्रामा सहभागिता जनाउदै व्यवसायी उत्पादनको प्रचार प्रसार गर्ने माथि कडाइ गर्न खोजिएको राठीले बताए ।

विराटनगरको श्रीराधाकृष्ण रथयात्रा भारतको जगन्नाथपुरी पछि दक्षिण एसियाकै सबैभन्दा ठुलो रथयात्रा हो । जुन रथयात्राको नेपाल र भारतका ५ लाख भन्दा बढि धर्मावलम्बीहरूले अवलोकन गर्ने गरेका छन् ।