सुन चाँदी आचार संहिता लागू 

  • ब्रह्मदेव यादव, विराटनगर ४१६  पटक हेरिएको

शुक्रबार, भाद्र ०७, २०८१ समय : १४:२३:३२ , ६ महिना अगाडि

नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारदेखि कोशी प्रदेशमा आचार संहिता २०८१ लागू गरेको छ । नेपाल सरकारले सुन चाँदी व्यवसायी सम्बन्धी ऐन निर्माण नगरेसम्म यही आचारसंहिता लागू रहने छ । अब सुन चाँदी व्यवसायीहरुले आचार संहिताको पालना गर्ने गरी कारोबार गर्नुपर्छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइली, नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका केन्द्रिय अध्यक्ष किसान सुनार र नेपाल हस्तकला महासंघका केन्द्रिय अध्यक्ष प्रचण्ड शाक्यले शुक्रबारदेखि कोशी प्रदेशमा लागू भएको आचार संहितामा हस्ताक्षर गरेका छन् ।

कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारको उपस्थितिमा नेपाल सुन चाँदी व्यवसायी महासंघ कोशी प्रदेशले एक कार्यक्रमको आयोजना गरेर आचारसंहिता लागू गरेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रममा महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दियेसरत्न शाक्यले आचार संहिताको शुभारम्भ गरे ।

राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझा, र नेपाल प्रहरीको कोशी प्रदेश कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालको कार्यक्रममा उपस्थिति रहेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिका अध्यक्ष रमेश रसाइलीको अध्यक्षतामा सम्पन्न आचारसंहिता २०८१ सम्प्रेषण कार्यक्रममा कोशी प्रदेश भरीका सुन चाँदी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष तथा विराटनगर समितिका अध्यक्ष शशिभूषण साहले कार्यक्रमका सहभागि सुन चाँदी व्यवसायीलाई स्वागत गरेका थिए ।