
- ब्रह्मदेव यादव, विराटनगर ७१० पटक हेरिएको
सोमबार, बैशाख २२, २०८२ समय : १६:०४:४५ , ५ घन्टा अगाडि
नेपाली कांग्रेस मोरङको सभापति पदका लागि तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । जस मध्ये एक जना संस्थापन पक्ष र दुई जना संस्थापन इतर पक्षधर रहेका छन् । नेपाली कांग्रेस मोरङको आगामी अधिवेशन हुने मितिको टुंगो लागिसकेको छैन । तर सभापति पदमा दावेदारी प्रस्तुत गर्नेहरूमा तीन जनाको टुंगो लागिसकेको छ ।
नेपाली कांग्रेसको संस्थापन पक्षबाट शिवप्रसाद ढकाल एकल उम्मेदवार बन्ने करिब करिब टुंगो लागिसकेको छ । संस्थापन पक्षबाट सभापतिको लाइनमा रहेका दिलीप गच्छदारलाई कांग्रेसको केन्द्रीय समिति वा कोशी प्रदेश समितिमा सम्मानित पद दिने आश्वासन दिएर ढकाललाई सर्वसम्मत रूपमा सभापति उम्मेदवारको रूपमा अगाडी सारिएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाका विश्वास पात्र ढकाललाई आगामी अधिवेशनबाट मोरङ कांग्रेसको सभापति बनाउने संस्थापन पक्षले तयारी सुरु गरिसकेको छ ।
संस्थापन इतर पक्ष अर्थात् संघिय सांसद डा. शेखर कोइरालाको समूहबाट नागेश कोइराला र ललित श्रेष्ठले सभापति पदको लागि दावेदारी प्रस्तुत गरेका छन् । कोइराला नेपाली कांग्रेस मोरङका उपसभापति र विराटनगर महानगरपालिकाका मेयर रहेका छन् । श्रेष्ठ नेपाली कांग्रेस मोरङको सचिव पदमा बहाल रहेका छन् ।