- ब्रह्मदेव यादव, विराटनगर २७८ पटक हेरिएको
बिहिबार, कार्तिक २०, २०८२ समय : १५:५१:१३ , ५ घन्टा अगाडि
भारतको बिहार राज्यका उपमुख्यमन्त्री एवं सत्ताघटक भारतीय जनता पार्टीका लखीसराय निर्वाचन क्षेत्रका उम्मेदवार विजयकुमार सिन्हाले राष्ट्रिय जनता दलका गुन्डाको छातीमै बुल्डोजर चल्ने घोषणा गरेका छन् । बिहीबार बिहार राज्यको १ सय २१ निर्वाचन क्षेत्रमा मतदान भएको छ ।

आफ्नै निर्वाचन क्षेत्रमा मतदानको अनुगमन गर्न पुगेका उपमुख्यमन्त्री सिन्हाको स्थानीय मतदाताले विरोध गरेका छन् । उपमुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा सडक भत्किएको छ । र भत्किएको सडकको विषयलाई लिएर मतदाताले सिन्हाको चर्को विरोध गर्दै मतदान केन्द्र प्रवेशमा रोक लगाएका छन् ।
मतदान केन्द्रमा पुग्न नसक्ने अवस्था नदेखेपछि उपमुख्यमन्त्री सिन्हाले मतदातालाई राष्ट्रिय जनता दलको गुन्डा भन्दै बिहार राज्यमा एनडीएको सरकार गठन पछि उनीहरूको छातीमै बुल्डोजर चल्ने घोषणा गरेका छन् । उपमुख्यमन्त्री सिन्हाले निर्वाचन क्षेत्रमा विरोध गरेका सबै मतदातालाई यादव समाजको गुन्डा भन्दै सरकार गठनपछि सबैको छातीमै बुल्डोजर चल्ने घोषणा गरेका छन् ।

उपमुख्यमन्त्री सिन्हा लखीसराय निर्वाचन क्षेत्रको खोरियारी स्थित बुथ नम्बर ४०४ र ४०५ को मतदान केन्द्रमा पुग्दा उनको विरोध भएको थियो । उपमुख्यमन्त्री सिन्हाले निर्वाचनमा राष्ट्रिय जनता दलका गुन्डाहरुले मतदान केन्द्रमा धान्देली गरेको आरोप लगाएका छन् । तर लखीसरायका प्रहरी प्रमुख एसपी अजयकुमारले निर्वाचनमा कुनै प्रकारको धान्देली नभएको र शान्ति पूर्वक मतदान भएको बताए । भारतको बिहार राज्यमा २ सय ४३ निर्वाचन क्षेत्र रहेका छन् ।
जसमध्ये सन् २०२५ नोभेम्बर ६ तारिख अर्थात् २०८२ कार्तिक २० गते बिहीबार १ सय २१ सिटमा पहिलो चरणको निर्वाचन भएको छ । सन् २०२५ नोभेम्बर ११ तारिख अर्थात् २०८२ कार्तिक २५ गते मंगलबार १ सय २२ निर्वाचन क्षेत्रमा दोस्रो चरणको निर्वाचन हुनेछ । २०२५ नोभेम्बर १४ तारिख अर्थात् २०८२ कार्तिक २८ गते शुक्रबार निर्वाचन परिणाम सार्वजनिक हुनेछ ।
बिहारमा एनडिए गठबन्धन र महागठबन्धन बिच चुनावी प्रतिस्पर्धा भइरहेको छ । सत्ताघटक भारतीय जनता पार्टी र जनता दल यूनाइटेड सहितको एनडिए गठबन्धन बनेको छ । भने प्रतिपक्ष राष्ट्रिय कांग्रेस र राष्ट्रिय जनता दल सहितको महागठबन्धन बनेको छ । दुवै गठबन्धन चुनावी मैदानमा उत्रिएका छन् ।
महागठबन्धनले राष्ट्रिय जनता दलका तर्फबाट तेजस्वी यादवलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएका छन् । एनडिए गठबन्धनले बहालबाला मुख्यमन्त्री नितिशकुमारको नेतृत्वमा चुनाव लडिरहेका छन् ।