- चिरफार डटकम, विराटनगर १११ पटक हेरिएको
मंगलबार, साउन १२, २०८३ समय : १३:२९:२१ , २ घन्टा अगाडि
सुनसरी देवानगंज गोली काण्डको छानबिनको माँग गर्दै विश्व हिन्दु परिषद् नेपाल मोरङको युवा मोर्चाले मङ्गलवार विराटनगर बजार बन्द गराएका छन् ।
आइतबार राती सुनसरीको देवानगंजमा दुई समुदाय बिच भएको भिडन्तको क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
१४ जना भन्दा बढी घाइते भएका छन् । सङ्घीय सरकारको गृह मन्त्रालयले देवानगंज गोली काण्ड घटनाको अनुसन्धान गर्न ५ सदस्य छानबिन टोली गठन गरेको छ ।

घटनामा दोषी देखिएका नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवे, सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सशस्त्र प्रहरी बल नेपाल सुनसरीका एसपी श्याम कार्कीको जिम्मेवारी खोसिएको छ । र थप कारबाहीका लागि गृह मन्त्रालयमा तानिएको छ ।
गृह मन्त्रालयमा तानिएका सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले देवानगंज गोली काण्ड घटनामा आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बयान दिएपछि घटना थप रहस्यमय बनेको छ ।
विश्व हिन्दु परिषद् नेपाल मोरङको युवा मोर्चाले देवानगंज गोली काण्ड घटना थप रहस्यमय बनेकोले उच्चस्तरीय छानबिन समिति मार्फत घटनाको छानबिन हुनु पर्ने माँग गर्दै विराटनगर बजार बन्द गराएका छन् । मङ्गलवार विराटनगरको बजार सहित शिक्षण संस्था पूर्ण रूपमा बन्द रहेका छन् ।