- ब्रह्मदेव यादव, विराटनगर १६८ पटक हेरिएको
आइतबार, मंसिर ०७, २०८२ समय : १५:२४:१६ , ३ घन्टा अगाडि
भारतमा बसोबास गरिरहेका बंगलादेशका रोहिंग्या मुसलमानहरु अवैध तरिकाले नेपाल प्रवेश गर्ने क्रम सुरु भएको छ । भारतको पश्चिम बंगाल र उत्तर प्रदेश राज्यबाट बंगलादेशी रोहिंग्या मुसलमानहरु नेपाल प्रवेश गरिरहेको समाचार सूत्रले जानकारी गराएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए सरकारले पश्चिम बंगाल र उत्तर प्रदेश राज्यमा मतदाता शुद्धीकरण (एस.आइ.आर.) कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
भारतको उत्तर प्रदेश राज्यमा भारतीय जनता पार्टी (बिजेपी) को सरकार छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ नेतृत्वको सरकारले लुकिछुपी बसोबास गरिरहेका बंगलादेशका रोहिंग्या मुसलमानका लागि शरणार्थी शिविर स्थापना गरेका छन् । र खोजी खोजी बंगलादेशी रोहिंग्या मुसलमानलाई शिविरमा राख्न थापेपछि त्यहाँ भागाभागको अवस्था छ ।

खुल्ला सिमानाका कारण बंगलादेशी रोहिंग्या मुसलमान सहज र सरल तरिकाले नेपाल प्रवेश गरिरहेका छन् । पश्चिम बंगाल र उत्तर प्रदेशबाट बस र रेल मार्ग भएर बंगलादेशी रोहिंग्या मुसलमान जोगबनीसम्म आइपुग्ने र त्यहाँबाट लुकिछुपी नेपाल प्रवेश गरिरहेका छन् ।
नेपाल भारतको अन्तर्राष्ट्रिय जोगबनी नाका नजिक नेपाल तर्फ सीमान्त क्षेत्रमा व्यवसायी कारोबारका लागि बनाइएका घरको अगाडी र पछाडि तर्फ ढोका रहेका छन् । एक देशबाट अर्को देशमा सामान तस्करी गर्नका लागि त्यसरी बनाइएको घरको अगाडी र पछाडीको ढोकाबाट मोटो रकम असुली गरेर बंगलादेशी रोहिंग्या मुसलमानलाई नेपाल प्रवेश गराई रहेका छन् ।
जोगबनी नाका हुँदै नेपाल प्रवेश गरिरहेका बंगलादेशी रोहिंग्या मुसलमान मोरङ र सुनसरीको मुस्लिम बाहुल्य ग्रामीण क्षेत्रमा पुग्ने गरेका छन् । सुनसरी जिल्लाको भोक्राह–नसिंह गाउँपालिकाको मुस्लिम बाहुल्य ग्रामीण क्षेत्रमा मात्रै हजारौँ बंगलादेशी रोहिंग्या मुसलमान बसोबास गरिरहेका छन् । यस तर्फ राज्य बेखबर छ ।
यसरी अवैध तरिकाले नेपाल प्रवेश गरेका बंगलादेशी रोहिंग्या मुसलमान नेपाली नागरिकता प्राप्त गर्ने भएकोले त्यसलाई रोक्न सीमान्त क्षेत्रमा कडाइ गर्नुपर्ने आवाज उठ्न थालेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बंगलादेशी रोहिंग्या मुसलमान नेपाल प्रवेश गरिरहेको विषयलाई लिएर सिमानाकामा खटिएका सुरक्षाकर्मीलाई सचेत गराइएको बताए ।
चिरफार डटकमसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी कट्टेलले भिसा लिएर काम विशेषले बंगलादेशी नागरिक नेपाल आउन सक्छ तर अवैध तरिकाले नेपाली नागरिक बन्ने गरी नेपाल प्रवेश गरिरहेका बंगलादेशी रोहिंग्या मुसलमानलाई नेपाल प्रवेशमा रोक लगाइएको बताए ।