- ब्रह्मदेव यादव, विराटनगर १७९ पटक हेरिएको
सोमबार, माघ १९, २०८२ समय : १५:१६:११ , ५ घन्टा अगाडि
नेपाली कांग्रेसले मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार फुलकुमार लालवानी जिताऊ अभियान सञ्चालन गरेका छन् । जुन अभियानमा कांग्रेस केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य अमृत अर्याल सक्रिय रहेका छन् ।
कांग्रेस मोरङ क्षेत्र नं. ५ का क्रियाशील र साधारण सदस्यहरू समेत लालवानी जिताऊ अभियानमा सक्रिय रहेका छन् । दोस्रो संविधान सभाको निर्वाचनमा मोरङ क्षेत्र नंं. ५ बाट संविधान सभा सदस्यमा निर्वाचित अर्याल यतिखेर मोरङ क्षेत्र नं. ५ कै “ख” प्रदेश सभाबाट प्रदेश सभा सदस्य रहेका छन् ।
पार्टीले मोरङ ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनाएका लालवानीलाई विजयी गराउने जिम्मेवारी अर्यालको काँधमा आएको छ । मोरङ ५ मा कांग्रेसले आयोजना गरिरहेको चुनावी सभालाई उम्मेदवार लालवानी सँगै अर्यालले सम्बोधन गरिरहेका छन् ।

लालवानीको चुनावी सभालाई सम्बोधन गर्दै अर्यालले म नै फुलकुमार लालवानी हुँ । मलाई नै भोट दिनु भन्दै मतदाता समक्ष लालवानीको नाममा भोट मागी रहेका छन् । जसको कारण कांग्रेस उम्मेदवार लालवानीको पक्षमा चुनावी माहोल तयार भएको छ । र लालवानीको पक्षमा मतदाताको आकर्षण बढ्न थालेका छन् ।
विराटनगरका मारवाडी समुदायका लालवानी स्वतन्त्रता सेनानी परिवारकी पृष्ठभूमिका कांग्रेस कार्यकर्ता हुन् । ४८ वर्षसम्म कांग्रेसमा सक्रिय रूपमा काम गरेका लालवानीलाई कांग्रेसले मोरङ ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । र लालवानी चुनावी अभियानमा होमिएका छन् ।
लालवानीको चुनावी अभियानलाई अर्यालले साथ दिई रहेका छन् । मोरङ ५ मा १ लाख १० हजार मतदाता रहेका छन् । विराटनगर महानगरपालिकाको केही वडा, जहदा र धनपालथान गाउँपालिका र रंगेली नगरपालिकाको केही वडा मोरङ क्षेत्र नं. ५ मा पर्छ ।
भारत सँग सिमाना जोडिएको मोरङ क्षेत्र नं. ५ मधेसी बाहुल्य निर्वाचन क्षेत्र हो । जुन निर्वाचन क्षेत्रबाट नेकपा एमालेले मनोज अग्रवाल, नेपाली कम्यूनिष्ट पार्टीले शिवकुमार मण्डल, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका अध्यक्ष योगेन्द्र मण्डल, जनता समाजवादी पार्टी नेपालका राजकुमार यादव चुनावी मैदानमा रहेका छन् ।
१ लाख १० हजार मतदाता मध्ये ७० हजार मत खस्ने आकलन गरिएको छ । ५ मुख्य पार्टी सहित राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएकोले १४ देखि १५ हजार मत ल्याउने उम्मेदवारले सहज रूपमा जित निकाल्न सक्छन् । नेपाली कांग्रेसको मोरङ क्षेत्र नं. ५ मा बलियो सांगठनिक अवस्था रहेकोले कांग्रेसले सहज रूपमा जित निकाल्ने अपेक्षा गरिएको छ ।