- चिरफार डटकम, विराटनगर १२१ पटक हेरिएको
मंगलबार, आषाढ ०२, २०८३ समय : १५:२१:२८ , ५ घन्टा अगाडि
नेपाल औषधि व्यवसायी संघ मोरङले ५३औं स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको सप्ताहव्यापी कार्यक्रमको तयारी सुरु गरेको छ ।
संघले मङ्गलवार विराटनगरमा पत्रकार सम्मेलन गरेर असार ४ गतेदेखि १० गतेसम्म आयोजना गर्न लागेको सप्ताहव्यापी कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष देशबन्धु ढकालले असार ४ गते बिहीबार विराटनगरस्थित कोशी अस्पतालको बालविभाग र कुपोषण विभागमा फलफूल वितरण गर्ने कार्यक्रम रहेको बताए ।
असार ५ गते शुक्रवार विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयमा लागुऔषध सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, असार ६ गते शनिवार जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई लागूपदार्थ परीक्षण किट तथा ट्राफिक सचेतनामूलक बोर्ड हस्तान्तरण गर्ने, असार ७ गते आइतबार औषधिको समुचित प्रयोग, भण्डारण एवं विक्री वितरण सम्बन्धी मोरङको बेलबारीमा १ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, असार ८ गते विराटनगर–५ स्थित मानव सेवा आश्रममा आश्रित परिवारलाई मिष्ठान्न भोजन वितरण सँगै स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने, असार ९ गते मङ्गलवार विराटनगरको हस्पिटल चौकमा रक्तदान कार्यक्रम आयोजना गर्ने र असार १० गते बुधवार विराटनगरमा प्रभातफेरी कार्यक्रमको आयोजना पश्चात् झण्डोतोलन र साँझ दीप प्रज्वलन सँगै कार्यक्रमको समापन हुनेछ ।
नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिना सहित संघका पदाधिकारीहरू पत्रकार सम्मेलनमा सहभागी थिए ।