राउत र रिजालको उम्मेदवारी

  • चिरफार डटकम, विराटनगर ५३४  पटक हेरिएको

आइतबार, चैत्र २२, २०८२ समय : १५:११:४७ , १ दिन अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्ष पदका लागि राजेन्द्र राउत र नविन रिजालको उम्मेदवारी परेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आइतबार विराटनगरमा सुरु भएको ८औं प्रदेश सभाको बैठक सुचारु भए सँगै अध्यक्ष पदका लागि राउत र रिजालको उम्मेदवारी परेको निर्वाचन अधिकृत विकास थापाले बताए ।

राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्ष पदमा कार्यरत रहेका छन् । २०७९ मा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका राउतले ३ वर्षे कार्यकाल पुरा गरेका छन् । र आगामी कार्यकालका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको मोरङ जिल्लाको बुढीगंगा गाउँपालिकामा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आफ्‌नै भवन निर्माण भइरहेको छ ।

अध्यक्ष राउतको कार्यकालमा भवन निर्माणको काम सुरु भएको र भवन निर्माणको काम पुरा नहुन्जेलसम्मका लागि एक पटक पुनः राउतको नेतृत्व आवश्यक रहेको जोडदार रूपमा आवाज उठेकोले राउतले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

रिजाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य रहेका छन् । मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष रिजालले राउतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा २ सय भन्दा बढी मतदाता रहेका छन् ।

आइतबार नै मतदान हुने र मतदानपछि मत परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत थापाले बताए ।