- चिरफार डटकम, विराटनगर १२८ पटक हेरिएको
मंगलबार, जेठ १२, २०८३ समय : १६:०७:१७ , १ घन्टा अगाडि
आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित भइसकेपछि मात्रै कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढ्ने सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले बिच सहमति जुटेको छ ।
पहिला बजेट ल्याउने कि ? नयाँ सरकार गठन गर्ने विषयमा बहस चलिरहेको बेला सरकार गठन भन्दा बजेटलाई प्राथमिकतामा राखेर काग्रेस र एमाले अगाडी बढ्ने गरी सहमति गरेका छन् ।
कांग्रेस र एमाले बिच भएको सहमति अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले असार १ गते आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याउने टुंगो लागेको छ ।
कोशी प्रदेशमा कांग्रेस र एमालेको संयुक्त सरकार छ । कोशी प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित भइसकेपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढ्ने सहमति जुटेको नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले जानकारी गराए ।
मंगलबार चिरफार डटकम सँग कुरा गर्दै मन्त्री पराजुलीले भने – बहालवाला मुख्यमन्त्री कार्कीको नेतृत्वमा अर्को सरकार गठन हुने कि सरकारको नेतृत्व कांग्रेसले गर्ने विषयमा सहमति जुट्न सकेको छैन ।
कोशी प्रदेशमा आलोपालो गरी मुख्यमन्त्री चलाउने कांग्रेस र एमाले बिच भद्र सहमति भएको थियो । एमाले कोशी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री कार्कीको आधा कार्यकाल सकिसकेकोले कांग्रेसले सरकारकाे नेतृत्व गर्नुपर्ने दाबी गरेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीको दौडमा रहेका छन् । मुख्यमन्त्री बन्नका लागि थापाले कांग्रेस भित्र गुट नै परिवर्तन गरेका छन् ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर थापा यतिखेर गुट परिवर्तन गरेर नेपाली कांग्रेसका सभापति गगन थापाको प्यानल राेजेका छन् ।