- ब्रह्मदेव यादव, विराटनगर १८२ पटक हेरिएको
बुधबार, जेठ ०६, २०८३ समय : १४:५९:३२ , ४ घन्टा अगाडि
नेपालीले जोगबनी बजारबाट किनेर ल्याउने गरेको चिनीमा भारत सरकारले प्रतिबन्ध लगाएको छ । पहिलो चरणमा चिनीमा प्रतिबन्ध लगाएको भारतले, दोस्रो चरणमा खाने तेलमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
एक साता अघिसम्म नेपालीले निर्वाद रूपमा भारती बजार जोगबनीबाट खाद्यान्न सामग्री सँगै चाहिएको जति चिनी ल्याइ रहेका थिए । सोमबारदेखि जोगबनीबाट चिनी नेपाल ल्याउन भारतीय पक्षले प्रतिबन्ध लगाएको छ । नेपाल–भारतको सीमान्त क्षेत्र जोगबनी नाकाको दशगजा क्षेत्रमा तैनाथ भारती सुरक्षाकर्मीले चिनी नेपाल भित्र्याउन दिइरहेका छैन ।
जोगबनीबाट किनमेल गरेर नेपाल फर्किरहेका नेपालीहरूको झोला भारतीय पक्षले चेक गरेर चिनी जफत गरिरहेका छन् । दशगजा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीले नेपाल तर्फ चिनी ल्याइरहेका नेपालीलाई चिनी खरिद गरेकै पसलमा फिर्ता गर्न लगाउने र नमानेको खण्डमा चिनी जफत गरिरहेका छन् ।
नेपालको तुलनामा भारतमा चिनी प्रतिकेजी २५ रुपैयाँ सस्तो छ । भारती बजार जोगबनीमा ७५ रुपैयाँ किलोमा पाइने चिनी नेपाली बजारमा १०० रुपैयाँ भन्दा माथि बिक्री भइरहेको छ । चिनी किन्नकै कारण नेपालीहरू भारती बजार जोगबनी पुगिरहेका छन् । जहाँ सस्तोमा चिनी सँगै घरका लागि आवश्यक खाद्यान्न सामग्री किनेर नेपाल फर्किरहेका छन् ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट नेपालमा बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएपछि नेपाल–भारतको सीमान्त क्षेत्रमा कडाइ गरिएको छ । जसको कारण ९० प्रतिशत नेपाली किनमेलका लागि जोगबनी जान छाडेका छन् ।
१० प्रतिशत नेपाली सस्तो चिनी सँगै खाद्यान्न सामग्री खरिद गर्न जोगबनी पुगिरहेका छन् । भारत सरकारले पहिलो चरणमा चिनीमा प्रतिबन्ध लगाएको भारत सरकारले दोस्रो चरणमा खाने तेलमा प्रतिबन्ध लगाउने गरेको तयारीका कारण नेपाली किनमेलका लागि जोगबनी जाने अवस्थाको अन्त हुन लागेको हो ।
इजरायल–इरान बिच युद्ध चलिरहेको बेला भारत आर्थिक संकटमा परेको छ । देशलाई आर्थिक संकटबाट पार लगाउन चिनी र खाने तेलमा रोक लगाइएको हो ।