नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिद्वारा कार्य विभाजन

  • चिरफार डटकम, विराटनगर २१५  पटक हेरिएको

शुक्रबार, आषाढ २६, २०८३ समय : १८:३८:०७ , १९ घन्टा अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले निजी क्षेत्रको समस्यालाई जोडदार रूपमा उठान गरेर त्यसलाई समाधान गराउनका लागि विभिन्न समिति गठन गरेर कार्य विभाजन गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतको अध्यक्षतामा शुक्रवार बसेको कार्यसमितिको बैठकले महासंघका गतिविधिलाई थप प्रभावकारी, गतिशील र व्यवस्थित बनाउने गरी विभिन्न समिति गठन गरेर कार्य विभाजन गरेको छ ।

ऋषिराज तिम्सिनालाई उद्योग वाणिज्य परिषद्को सभापति, राजन श्रेष्ठलाई वस्तुगत समन्वय समितिको सभापति, रविन दाहाललाई रोजगार दाता परिषद्को सभापति, सुभाष आचार्यलाई बैंक, वित्तीय, बिमा तथा पुँजी बजार समितिको सभापति, देवकिनन्दन अग्रवाललाई कर तथा राजश्व समितिको सभापति, भविषकुमार श्रेष्ठलाई पर्यटन तथा हवाई यातायात समितिको सभापति, कृति श्रेष्ठ उपाध्यायलाई महिला उद्यम विकास समितिको सभापति, कृष्णप्रसाद रिजाललाई व्यापार, मेला समितिको सभापति, जयप्रकाश शर्मालाई घरेलु तथा साना उद्योग समितिको सभापति, निर्मल भट्टराईलाई आयात–निर्यात समितिको सभापति, नविन चौधरीलाई सामाजिक विकास समितिको सभापति, मेघराज सिग्देललाई स्थल यातायात तथा पारवहन समितिको सभापति, विजय सन्तोषी राईलाई सूचना तथा सञ्चार प्रविधिको सभापति, अंशु बन्जारालाई स्थानीय निकाय समन्वय समितिको सभापति, तरुण सन्चेतीलाई स्वास्थ्य तथा सीप विकास समितिको सभापति जिम्मेवारी दिइएको छ ।

सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा र झापा उद्योग वाणिज्य संघका उपाध्यक्ष विजय गोयलाई आमन्त्रित सदस्यमा मनोनयन गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अविनाश बोहरा, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पूर्व अध्यक्ष नरेन्द्र खड्का, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तारानाथ घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पूर्व उपाध्यक्ष कुमारमणी पोखरेल र पूर्व राजदूत तापस अधिकारीलाई सल्लाहकार समितिमा स्थान दिएको छ ।

भन्सार विभागका पूर्व भन्सार प्रशासक श्याम दाहाललाई आर्थिक विकास सम्बन्धी सल्लाहकार, सीए सुरज तिम्सिनालाई राजश्व सम्बन्धी सल्लाहकार र अधिवक्ता, विकास थापालाई कानुन सम्बन्धी सल्लाहकारको जिम्मेवारी दिएको छ ।