“कोशी अस्पतालको जग्गा ७ दिन भित्र खाली नभए डोजर चल्छ” 

  • चिरफार डटकम, विराटनगर १७५  पटक हेरिएको

मंगलबार, आषाढ २३, २०८३ समय : १५:३७:४६ , ३ घन्टा अगाडि

विराटनगरस्थित कोशी अस्पतालको कब्जा गरिएको जग्गा ७ दिन भित्र खाली नभए डोजर चलाउने तयारी थालिएको छ ।

विराटनगरको अस्पताल चौकमा रहेको कोशी अस्पतालको ५ बिघा ८ कठ्ठा ९ धुर जग्गा मध्ये नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर र देवकोटा पुस्तकालयले ८ देखि १० कठ्ठा जग्गा ७० वर्षदेखि कब्जा गरेका छन् ।

यी चारवटै संस्थाले कोशी अस्पतालको कब्जा गरिएको जग्गामा व्यवसायीक भवन निर्माण गरेर घर भाडा बापत प्रत्येक महिना मोटो रकम असुली गरिरहेको छ ।

सङ्घीय सरकारका गृहमन्त्री सुदन गुरुङले केही दिन अगाडी कोशी अस्पतालको निरीक्षण गर्दै चार संस्थाले कब्जा गरेको जग्गा फिर्ता लिन निर्देशन दिएका थिए ।

गृहमन्त्री गुरुङको निर्देशन पछि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा एक्सनमा आएको छ ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. झाले सोमबार सूचना जारी गरेर ७ दिन भित्र कब्जा गरिएको जग्गा खाली गर्न चार संस्थालाई अन्तिम अल्टिमेटम दिएको छ । यसअघि कोशी अस्पतालले जग्गा खाली गर्न १५ दिने अल्टिमेटम दिएको थियो ।

मङ्गलवार चिरफार डटकम सँग कुरा गर्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. झाले ७ दिन भित्र कब्जा गरिएको जग्गा खाली नभए त्यहाँ निर्माण गरिएको संरचनामा डोजर चलाउने तयारी सुरु भइसकेको जानकारी गराए ।

यतिखेर कोशी अस्पताल ३ सय ५० बेडमा सञ्चालन भइरहेको छ । कोशी अस्पतालमा २ ठुला भवन निर्माण भइरहेको छ । दुवै भवनको निर्माण पछि कोशी अस्पताल ७ सय ५१ बेडमा सञ्चालन हुने तयारी भइरहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए ।